समाचार

नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी पक्राउ

अनलाइन नेपालगंज

बिहीबार, २१ बैशाख २०८०

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोपमा पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सांसद रायमाझीलाई आज बिहान भैरहवाबाट पक्राउ  गरेको हो। 

उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ । रायमाझी पक्राउ परेपछी नेकपा एमाले प्रहरीको अनुसन्धानलाई पुर्ण रुपमा सघाउने जनाएको छ।

रायमाझीका छोरा सन्दीप हिजो नै बुटबलबाट पक्राउ परेका छन् । उनलाई आज बिहान बुद्ध एयरको जहाजबाट काठमाडौं लगिएको  छ । उनलाई आज प्रहरीले अदालतमा पेश गर्ने तयारी गरिएको छ ।

सन्दीपको नाममा डेढ करोडको चेक काटिएको पनि भेटिएको छ ।

यस्तै तत्कालीन गृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीकलाई पनि प्रहरीले खोजी गरिरहेको छ ।

यसअघि बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीले यही प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेर अदालतमा पेश गरिसकेको छ ।