समाचार

मोरङको विभिन्न विद्यालयबाट एसईईको नक्कली परीक्षार्थी परीक्षा केन्द्रबाट पक्राउ

अनलाइन नेपालगंज

बिहीबार, २३ चैत्र २०७९

आज बिहान एसईईको परीक्षा केन्द्रबाट ११६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । 

मोरङको ग्रामथानमा गाउँपालिका–२ झोराहाटस्थित सरस्वती नमुना माविको परीक्षा केन्द्रबाट एसईईको सामाजिक विषय दिइरहेका ५२ जना नक्कली  परीक्षार्थी पक्राउ परेको मोरङ प्रहरीले जानकारी दिएको छ । 

परीक्षा केन्द्रबाट ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेपछि परीक्षा केन्द्रमा जिल्ला  प्रहरी मोरङ र शिक्षा विकास समन्वय इकाइ प्रमुख टंक गौतमको टोली पुगिसकेको छ ।

८ वटा विद्यालयको सेन्टर रहेको उक्त परीक्षा केन्द्रमा सक्कली परीक्षार्थीको प्रवेशपत्रमा फोटो चप्काएर नक्कली परीक्षार्थीले परीक्षा दिइरहेको अवस्थामा शंका लागेर केन्द्राध्यक्षले जन्म मिति सोध्न पुग्दा भन्न नसकेपछि उनीहरु नक्कली परीक्षार्थी रहेको खुल्न आएको प्रहरीले बताएको छ।

यस्तै, सामाजिक विषयको परीक्षा दिंदै गरेका नक्कली परीक्षार्थीहरु मध्ये  केराबारी गाउँपालिका- ७ स्थित सार्वजनिक माध्यामिक विद्यालयबाट ४४ जना र सुन्दरहरैचा नगरपालिका- १ स्थित जनता माध्यामिक विद्यालयबाट २० पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका नक्कली परीक्षार्थीहरुसँग थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।