खेलकुद

प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल खेल नेपाल र लाओस बीच

अनलाइन नेपालगंज

शुक्रबार, १७ चैत्र २०७९

आज प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल खेल हुँदैछ । काठमाडौंस्थित दशरथ रंगशालामा हुने फाइनलमा आयोजक नेपाल र लाओस साँझ ५ः३० बजे  भिड्दैछन् । 

लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । लाओस दोस्रो स्थानमा रहँदै नेपालसँगको फाइनल पक्का गरेको हो । भुटान भने लिग चरणबाट बाहिरिएको थियो ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २–० ले हराएको थियो । लाओसले भुटानलाई २–१ ले हराएको थियो । तर, नेपालले भुटानसँग १–१ को बराबरी खेलेको थियो । 

यो समीकरण हेर्दा फाइनल खेल रोमाञ्चक हुनेछ । तर, यसपालि आफू भन्दा कमजोर टिम ल्याएको भन्दै अखिल नेपाल फुटबल संघ एन्फाको आलोचनासमेत भएको छ । 

नेपाली टोलीलाई खेल्न भने सहज देखिएको छैन । भुटानविरुद्ध नेपाल हारबाट जोगिएको थियो । 

प्रतियोगिताको फाइनल अघि नेपाल र लाओस उपाधि जित्नेमा ढुक्क देखिएका छन् । बिहीबार आयोजित प्रिम्याच कन्फरेन्समा दुबै टोली उपाधि जित्नेमा आत्मविश्वासी देखिए ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले टोलीले फाइनल जित्नेमा आफू आशावादी रहेको बताए ।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर तथा उपविजेताले ३ हजार डलर पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउनेछन् ।