विशेष

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले व्यवस्थापनका विषयमा १८ बुँदे निर्देशन जारी

अनलाइन नेपालगंज

मंगलवार, ३० फाल्गुन २०७९

देशभरका ७५३ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १८ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयका सचिव कृष्णहरि पुष्करले कार्यसम्पादन तथा व्यवस्थापनका विषयमा निर्देशन जारी गरेका हुन् ।

निर्देशन जारी गरेको सूचनामा ‘स्थानीय तहको कार्यसम्पादन र व्यवस्थापनलाई आगामी दिनमा थप प्रभावकारी, पारदर्शी तथा जनउत्तरदायी बनाउन विशेष ध्यान दिई कामकारबाही गर्ने गराउने व्यवस्था मिलाउन निर्देशन दिइएको छ । 

स्थानीय तहको बेरुजु तत्काल पर्छ्यौट गरेर मन्त्रालयमा विवरणमा पेश गर्नेदेखि स्थानीय तहबाट प्रवाह हुने सेवाबाट सेवाग्राही सन्तुष्ट भए–नभएको विषयमा नियमित रुपमा सेवाग्राही सन्तुष्टि सर्वेक्षण गर्ने सम्मका निर्देशन रहेको छ ।

त्यस्तै सेवाग्राहीको वैकल्पिक व्यवस्था मिलाएर मात्र स्थानीय तहका कर्मचारीको बिदा, काज, भ्रमण लगायतका कार्यहरु तोकिएको कानून, विधि तथा प्रक्रिया बमोजिम अधिकारप्राप्त अधिकारीबाट स्वीकृत गर्न गराउनसमेत निर्देशन दिइएको छ । 

साथै स्थानीय तहको काम काराबाहीमा कुनै विवाद तथा द्धिविधा उत्पन्न भएमा संघ तथा सम्बन्धित प्रदेशका मन्त्रालय–निकायहरुसँग समन्वय र सहकार्य गर्नसमेत निर्देशन दिइएको छ ।