खेलकुद

नेपालको यूएई माथि जीत संगै चौथो स्थानमा उक्लदै ओडीआई मान्यता सुरक्षित

अनलाइन नेपालगंज

आईतवार, २८ फाल्गुन २०७९

नेपालले आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको आज यूएईलाई पराजित गर्दै  एक दिवसीय (ओडीआई )मान्यता जोगाएको छ ।

काठमाडौंमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलामा दुई खेलअघि नै नेपालले एक दिवसीय मान्यता सुरक्षित गरेको हो । 

आज भएको खेलमा यूएईमाथि फराकिलो जित हासिल गर्दै नेपालले दुई खेलअघि नै एक दिवसीय मान्यतालाई कायमै राख्न सफल भएको हो । नेपालले ३४ खेलमा ३६ अंक जोड्दै अमेरिकालाई पछाडि पार्दै एक दिवसीय मान्यता सुरक्षित गरेको हो ।  नेपालले पहिले ब्याटिङ गर्दै यूएईलाई दिएको २४९ रनको लक्ष दिएको थियो ।जवाफमा मैदानमा उत्रिएको यूएईले कमजोर प्रदर्शन गर्यो । यूएईले सबै विकेट गुमाएर २२.५ ओभरमा ७१ रनमात्र जोड्यो । 

लिग २ मा रहेका सात टिममध्ये शीर्ष पाँचमा रहने टिमले मात्र एक दिवसीय मान्यता कायम राख्ने भएकाले नेपाल चौथो स्थानमा उक्लदै एक दिवसीय मान्यता सुरक्षित गरेको हो । अब नेपालले दुई खेलमात्र खेल्न बाँकी छ । यी दुवै खेल जिते नेपाल विश्वकप छनोटमा सिधै छानिने छ । 

शीर्ष तीनमा रहने टिमले विश्वकप छनोटमा सिधै छानिन पाउँछन् । 

अहिलेसम्म स्कटल्याण्ड ५० अंकसहित च्याम्पियन भइसकेको छ । ओमान ४४ अंकबाट दोस्रो स्थानमा छ । तेस्रो स्थानको नामिबियाको ३९ अंक छ । चौथो स्थानको नेपालको ३४ खेलबाट ३६ अंक छ । सबै खेल खेलेको अमेरिकाको ३५ अंक छ । 

३४ खेलबाट ३१ अंकको यूएई छैटौं स्थानमा छ । ३४ खेलबाट ११ अंकको पपुवा न्युगिनी ‘पीएनजी’ पुछारमा छ । नेपाल बाँकी दुई खेल जितेमा ४० अंकसहित तेस्रो स्थानमा पुग्नेछ ।