समाचार

उपराष्ट्रपति उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै

अनलाइन नेपालगंज

आईतवार, २८ फाल्गुन २०७९

उपराष्ट्रपतिमा  उम्मेदवारी दर्ता गराएका जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता  रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्वाचन अधिकृतको कार्यालयले  निर्णय गरेको छ ।

निर्वाचन अधिकृतको कार्यालयले  रामसहायको उम्मेदवारी बदर नहुने निर्णय गरेको जानकारी दिएको छ । निर्वाचन कार्यालयका अनुसार  रामसहायसँगै चारै जना उम्मेदवारको उम्मेदवारी कायमै रहेको छ।

जसपाका रामसहायविरुद्ध नेकपा एमाले र जनमत पार्टीले उजुरी दिएको थियो। अब कसैले उम्मेदवारी फिर्ता नलिएसम्म  चारै जनाको उम्मेदवारी कायम रहने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उपराष्ट्रपतिमा जसपाबाट रामसहाय र प्रमिला उम्मेदवार छन् भने नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमतबाट ममता झा उम्मेदवार रहेका छन् ।