समाचार

जुम्लामा आगलागी हुँदा  १४ वर्षीया बालिकाको मृत्यु

अनलाइन नेपालगंज

मंगलवार, २४ माघ २०७९

जुम्लामा आगलागी हुँदा  १४ वर्षीया बालिकाको मृत्यु भएको छ । चन्दननाथ नगरपालिकाको एक घरमा आगलागी हुँदा  लोकबहादुर भण्डारीको घरमा गएराति साढे १० बजे आगलागी हुँदा उनकी छोरी बन्दना भण्डारीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरमुली लोकबहादुर घाइते भएका छन् ।

आगलागी भएको घरमा भण्डारीकी सासु,  श्रीमती, छोरी लगायत सात जनाको परिवार बस्दै आएको प्रहरी निरीक्षक धर्मराज जोसीले जानकारी दिए । उनका अनुसार लोकबहादुरको खुट्टा पोलेको छ भने अन्य परिवार सकुशल रहेका छन् ।  उनका अनुसार ढुङ्गा र काठले बनेको तीन तलाको घर टिनको छानोले छाइएको थियो ।  

प्रहरीका अनुसार आगो दोस्रो तलाबाट लागेको अनुमान गरिएको छ । मृतक बालिका तेस्रो तलामा सुतेका कारण उनलाई बाहिर निकाल्न नसिकएको हो ।  

प्रहरीले आगलागीको कारणको बारेमा अनुसन्धान गरिरहेको छ भने पूरै घर जलेर नष्ट भएको छ । क्षतिको थप विवरण आउन बाँकी छ ।