समाचार

कोहलपुरबाट पक्राउ परेका उन्मुक्ति नागरिक पार्टीका सांसद जेल चलान

अनलाइन नेपालगंज

शुक्रबार, २० माघ २०७९

बाँकेको कोहलपुरबाट बिहीवार दिउँसो पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । शुक्रवार बिहान जिल्ला अदालत कैलाली उपस्थित गराइएका सांसद चौधरीलाई अदालतले पुर्जी थमाउँदै जेल पठाएको छ ।

१३ वर्ष अगाडिको सार्वजनिक सम्पत्तिमा आगजनी घटनामा दोषी ठहर भएका उनलाई जिल्ला अदालत कैलालीले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

गत मंसिरमा भएको निर्वाचनमा कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद चौधरी २०६७ सालमै दोषी ठहर भएका थिए ।

मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा १५५ मा ‘एक वर्षभन्दा कम कैद बापत रकम तिर्न सकिने’ व्यवस्था छ ।

तर, चौधरीले त्यसका लागि कुनै निवेदन नदिएकाले कैदी पूर्जी दिएर कारागार पठाइएको अदालतका निमित्त श्रेस्तेदार राजेन्द्र जोशीले जानकारी दिए । उनले भने, ‘१५५ को सुविधा लागि उहाँले कारागारबाटै निवेदन दिन सक्नुहुन्छ, जिल्ला अदालतको फैसला विरुद्ध पुनरावेदन पनि गर्न सक्नुहुन्छ ।’

फैसला भएको करिव एक दशकसम्म पनि आरोपितहरु फरार नै थिए । दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी एक साताअघि पक्राउ परेका थिए । त्यसपछि अर्का अभियुक्त सांसद अरुणकुमार चौधरी रहेको खुलेको थियो । उनलाई पक्राउ गरेपछि नागरिक उन्मुक्ति पार्टीले तत्काल रिहा गर्न सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको थियो ।