समाचार

पोखरा दुर्घटनामा मृत्यु भएका १४ जनाको शव पहिचान हुन समस्या

अनलाइन नेपालगंज

आईतवार, ८ माघ २०७९

पोखरा हवाई दुर्घटनामा मृत्यु भएका मध्ये अझैपोखरा हवाई दुर्घटनामा मृत्यु भएका मध्येपहिचान हुन सकेको छैन ।

काठमाडौँ लगिएका मध्ये १४ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालकुमार चौधरीले जानकारी दिए ।

उनका अनुसार ती शव अत्यधिक जलेको हुनाले फरेन्सिक विधिबाट शव पहिचान हुन समस्या भएको हो । “ती शव अत्यधिक रुपमा जलेको हुनाले हामीलाई फरेन्सिक विधिबाट शव पहिचान गर्न समस्या भएको छ”, उनले भने, “आज पनि हामी शव पहिचान गर्ने कोशिस गर्दैछौं ।”

उनका अनुसार फरेन्सिक विधिबाट शव पहिचान गर्न नसकेमा ‘डिएनए’ परीक्षणबाट पहिचान गरिनेछ । नेपाल प्रहरीको प्रयोगशालामा ती शवको डिएनए परीक्षण गरिने विभागका प्रमुख डा. चौधरीले बताए ।

डिएनए परीक्षणबाट शव पहिचान गर्नका लागि कम्तीमा २२ दिन लाग्ने उनले जानकारी दिए । फरेन्सिक जाँचका लागि काठमाडौँ ४८ शव लगिएको थियो । यस्तै, पोखरामा २२ जनाको फरेन्सिक जाँच गरिएको छ । 

यही माघ १ गते काठमाडौँबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना भएको थियो । दुर्घटनामा चार चालक दलका सदस्यसहित ७२ जनाको निधन भएको थियो ।