समाचार

स्वास्थ्य मन्त्री पदम गिरी सहितकाे टाेली नेपालगन्ज आउँदै

अनलाइन नेपालगंज

शनिबार, ७ माघ २०७९

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी सहितकाे टाेली आज नेपालगन्ज आउँदैछ । मन्त्री गिरीसहित स्वास्थ्य सचिव डा. रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण श्रेष्ठ, मन्त्रालयको नीति योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेलकाे टोली दादुरा महामारी क्षेत्रकाे अवलाेकनका लागि आज नेपालगन्ज आउन लागेको हो ।

टोलीले प्रभावित क्षेत्रमै पुगेर महामारीको अवस्थाबारे जानकारी लिनेछ । मन्त्री गिरीले भोलि विहान ८ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ स्थित आधारभूत स्वास्थ्य केन्द्र डिएसपी रोड पुगेर यहाँको अवस्थाबारे जानकारी लिने नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए । स्वास्थ्यमन्त्री गिरी नेतृत्वको टोलीले भोलि विहान ९ बजे भेरी अस्पतालको निरीक्षण पनि गर्नेछ ।

बाँकेमा दादुरा संक्रमित बालबालिकाको संख्या २४६ पुगेको छ । हालसम्म २६ वटा वडाहरु दादुराबाट प्रभावित भएका छन् । सबैभन्दा बढी नेपालगन्जका १७ वटा वडा प्रभावित छन् । 

खजुराको ४, नरैनापुरको १, डुडुवाको १ र कोहलपुरको ३ वटा वडामा दादुरा फैलिएको छ । हालसम्म नेपालगन्जमा २ सय, खजुरामा १८, नरैनापुरमा १५, डुडुवामा ८ र कोहलपुरमा ५ गरी २४६ जनामा दादुरा देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । दादुरा फैलिएपछि खोप अभियान सुरु गरिएको बाँके जिल्लामा हालसम्म ६८ हजार २२१ जनाले दादुरा विरुद्धको खोप पाएका छन् भने ४८ हजार ८२२ जनालाई खोप लगाउन बाँकी छ ।