विशेष

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीद्वरा छात्रा खनाललाई सद्भावना दूत चयन

अनलाइन नेपालगंज

शुक्रबार, ६ माघ २०७९

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले कालिका मानवज्ञान मावि बुटवलमा कक्षा १२ मा अध्ययनरत छात्रा प्रशंसा खनाललाई सद्भावना दूत चयन गरेका छन् । कालिका मानवज्ञान मावि बुटवलले सुरु गरेको मेरो सांसद कार्यक्रमअन्तर्गत मुख्यमन्त्री गिरीले कानुन सङ्कायमा अध्ययनरत खनाललाई सद्भावना दूत चयन गरेका हुन् ।

आफ्नो सद्भावना दूत चयन गरेपछि मुख्यमन्त्री गिरीले कानुनका विद्यार्थी समाज परिवर्तनका संवाहक भएकाले विद्यार्थीले लोकतन्त्र, सङ्घीयता र समावेशी मुद्दालाई समाजमा फैलाएर उन्नत समाजको निर्माण गर्न सघाउने बताए ।

उनले मेरो सांसद कार्यक्रमले प्रदेश सभा र प्रदेश सरकारलाई जोड्न तथा यस्ता कार्यक्रमले जनता, जनप्रतिनिधि र सरकारबीच पुलको काम गर्ने विश्वास व्यक्त गरे । नागरिकबाट थप सल्लाह सुझाव प्राप्त हुने भएकाले यस्ता कार्यक्रममा प्रदेश सरकारले सधैँ साथ दिने प्रतिबद्धतासमेत उनले व्यक्त गरे । कालिका मानवज्ञान माविले कानुन समूहमा अध्ययनरत विद्यार्थीलाई लुम्बिनी प्रदेशका सांसदसँग सहकार्य गर्ने गरी लुम्बिनी प्रदेश सभा देउखुरीमा मेरो सांसद सञ्चालन गरेको थियो ।