समाचार

आज आठौं राष्ट्रिय योग दिवस नेपालगञ्जमा विभिन्न कार्यक्रम

अनलाइन नेपालगंज

आईतवार, १ माघ २०७९

आज आठौं राष्ट्रिय योग दिवस नेपालगञ्जमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । यस वर्ष स्वस्थ जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । 

योग समिति नेपालको केन्द्रिय कार्यालयबाट आज बिहान निस्केको र्याली सेतु विक चोक न्युरोड, त्रिभुवन चोक, चारवाहिनी हुँदै नेपालगञ्ज उपमहानगरपालिका पुगेर योगाभ्यास गरिएको थियो । र्यालीमा योग गुरु, योग प्रशिक्षक लगायत योगप्रेमीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

योगगुरु गिरीराज भट्टराइको सभापतित्वमा कार्यक्रम गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा योग समिति नेपालका सल्लाहकार विश्वजित तिवारी, नन्दलाल वैश्य, डा. रोमा वोरा, डा. दिनेश चौधरी लगायतको उपस्थिति रहेको थियो । 

योग समिति नेपालकी सचिव निर्मला शाहको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा बोल्दै नगर प्रमुख बिष्टले योग मानव स्वास्थ्यका लागि शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सुदृढ गर्ने अभ्यास भएको हुँदा सबैले योग गर्न जरुरी रहेको बताए । 

उनले केही वर्षपछि नेपालगञ्ज नगरलाई योगमय बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले योग समिति नेपालले बिभिन्न वडामा सचेतना फैलाएर योगाभ्यास गरिरहेकोले नेपालगञ्ज उपमहानगरपालिका अब ‘योगी’हरुको सहर भनेर पनि चिन्न धेरै समय नलाग्ने बताए । 

यस्तै योग समिति नेपालका सल्लाहाकार वैश्यले योग एउटा यस्तो अभ्यास हो जो कसैलाई दिन पनि नमिल्ने र कसैबाट लिन पनि नमिल्ने भएको हुँदा आफूले गरे मात्र आफ्नो शरीरलाई फाइदा हुने बताए । पछिल्लो समयमा योगतर्फ मानिसहरु आकर्षित भइरहेको योग गुरु भट्टराइले बताए । योग समिति नेपालका सदस्य झबि शर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।