समाचार

लायन्स क्लबले नेपालगन्जमा निःशुल्क आँखा तथा कान शिविर आयोजना

अनलाइन नेपालगंज

बिहीबार, २८ पुष २०७९

लायन्स क्लब इन्टरनेशनलका संस्थापक मेल्बिन जोन्सको १ सय ४४ औं जन्मोत्सवको अवसरमा साताव्यापी कार्यक्रम गरिरहेका लायन्सले नेपालगन्जमा निःशुल्क आँखा तथा कान शिविर आयोजना गरेको छ ।


नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० थपुवामा आयोजना गरिएको शिविरमा १ सय १० जनाले कानको परिक्षण र १ सय ३५ जनाले आँखाको परिक्षण गराएको आयोजक लायन्स र लियो क्लब अफ नेपालगन्ज इन्नेभेटिभले जनाएको छ ।


क्लबका डिस्ट्रिक्ट एडभाइजर उमा थापामगरका अनुसार, शिविरमा निःशुल्क परिक्षण र निःशुल्क औषधि वितरण गरिएको थियो । परिक्षणका क्रममा १५ जनामा मोतियाबिन्दु, ५ जनाको आँखामा मासु पलाएको र ६ जनाको कानको अप्रेशन गर्नुपर्ने देखिएको छ ।


शिविरको उद्घाटन कार्यक्रममा बोल्दै प्रथम डिष्ट्रिक भाइस गभर्नर मुकुट ढकालले लायन्सका संस्थापक मेल्बिन जोन्सले समाजका विविध समस्याहरुलाई सामाजिक सेवा मार्फत तत्काल सम्बोधन गर्न लायन्स क्लबको स्थापना गरेको बताए । उनले आफूहरुले पनि तत्काल समस्या समाधानका लागि सामाजिक पहलकदमी गरिरहेको धारणा राख्दै सबैको हातेमालोमा समाजका हरेक समस्यामा लायन्सको सदैव अग्रसरता रहने प्रतिबद्धता व्यक्त गरे ।


त्यस्तै निवर्तमान डिष्ट्रिक्ट गभर्नर मधुसुदन शर्माले लायन्स क्लबले समाजको कुना कुनामा लुकेका तर पहुँचको अभावमा सेवा लिनबाट वञ्चित समुदायलाई टार्गेट गरेर लायन्स क्लबले सामाजिक सेवाका कार्यहरु निरन्तर गरिरहेको बताए ।
कार्यक्रममा पूर्व डिस्ट्रिक्ट गभर्नर शेम शाक्यले करिब १ सय वर्ष देखि सामाजिक सेवा मार्फत लायन्स क्लब देशको दुर दराजसम्म पुगेर समाजका विभिन्न समस्याहरुलाई सम्बोधन गर्ने गरेको धारणा राखेका थिए ।


क्लबका अध्यक्ष विष्णु खनालको अध्यक्षतामा भएको कार्यक्रममा सिनियर डिस्ट्रिक्ट एकज्युटिभ चिफ ज्ञानेन्द्र श्रेष्ठ, डिस्ट्रिक्ट एकज्युटिभ चिफ शशी स्वाँर, एक्ज्युटिभ डिस्ट्रिक्ट को चिफ सरिता शाक्य, मेल्बिन जोन्स डे सेलिब्रेसन कोर्डिनेटर साबित्रा शर्मा, डिस्ट्रिक्ट एडभाइजर कृष्ण प्रसाद श्रेष्ठ, डिस्ट्रिक्ट चिफ डिल्ली रेग्मी, मिना ढकाल, मन्दिरा पाण्डे, प्रकाश कुँवर लगायतको सहभागिता रहेको थियो ।