समाचार

पुस २२ गतेदेखि सुरु भएको खोप अभियानमा हालसम्म ९९६३ जनालाई खोप

अनलाइन नेपालगंज

बिहीबार, २८ पुष २०७९

नेपालगञ्जमा खोप अभियान चलेको सातौं दिनसम्म झण्डै १० हजार जनाले दादुरा-रुबेला विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले समुदायस्तरमा दादुरा फैलिएपछि पुस २२ गतेदेखि सुरु भएको खोप अभियानमा हालसम्म ९९६३ जनालाई खोप लगाइएको जानकारी दिए ।  

दादुरा प्रभावित वडाहरुमा खोप अभियान चलिरहेको छ । श्रेष्ठले ६ महिनादेखि १५ बर्षसम्मका बालबालिकालाई खोप लगाइरहेको बताए । अहिलेसम्म प्रगति प्रतिशत ५४.१८ रहेको छ । खोप लगाउने लक्षित संख्या १८३९० छ । यही पुस १२ गतेदेखि फैलिएको दादुराबाट संक्रमित हुने बालबालिकाको संख्या जिल्लाभर १३३ पुगेको छ । आज कोहलपुरमा पनि एक जना दादुराका विरामी भेटिएका छन् । नेपालगञ्जमा १३०, खजुरामा २ र कोहलपुरको वडा नम्बर १४ मा १ जना दादुराका विरामी भेटिएका हुन् ।  

नेपालगञ्ज उपमहानगरपालिकाका वडा नम्बर–१, ३, ४, ५, ७, ८, ९, १०, ११, १४, १५, १६, २१ र २२ मा गरी १४ वटा वडाका १३० जनामा संक्रमण देखिएको उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिए । नेपालगञ्जमा आज मात्रै थप १७ जना दादुरा प्रभावित बालबालिका भेटिएका हुन् । दादुरा प्रभावित वडामा अब वडा नम्बर ४ र २१ पनि थपिएको बस्नेतले बताए । 

स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन श्रेष्ठका अनुसार संक्रमित मध्ये एक जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ । ६२ जना संक्रमितलाई होम आइसोलेसनमा राखिएको छ भने ७१ जना निको भइसकेका छन् । दादुराबाट केही दिनअघि नेपालगञ्ज ५ का ३१ महिने एक शिशुको मृत्यु भएको थियो ।

दादुराको रोकथाम र नियन्त्रणका लागि दादुरा-रुबेला विरुद्धको खोप लगाउने कार्यलाई अभियानकै रुपमा अघि बढाइएको जनस्वास्थ्य निरीक्षक बस्नेतले बताए । उनका अनुसार आज पनि विभिन्न ८ वटा वडाका १५ वटा खोप केन्द्रहरुबाट खोप लगाइएको छ । १, ४, ५, ७, ८, ११, १४ र १५ नम्बर वडाका १५ वटा खोप केन्द्रबाट ६ महिनादेखि १५ बर्ष सम्मका बालबालिकाहरुलाई दादुरा-रुबेला खोप प्रदान गरिएको बस्नेतले जानकारी दिए । भोली १, ४, ५, ७, ८, १०, ११, १४ र १५ नम्बर वडाका १३ वटा खोप केन्द्रबाट दादुरा-रुबेला विरुद्धको खोप लगाइँदैछ । 

संक्रमित हुनेमा अधिकांश ५ देखि १० वर्ष उमेर समूहका बालबालिका छन् । ती मध्ये कतिपयले कुनै पनि खोप नलगाएको र धेरैले पूर्ण खोप नलगाएको पाइएको छ ।

श्रेष्ठले आज प्रदेश स्वास्थ्य आपूर्ति ब्यबस्थापन केन्द्रबाट ३०००० डोज दादुरा रुबेला खोप प्राप्त भएको बताए । उनले अझै ३६५०० डोज स्टक रहेको जानकारी दिए । श्रेष्ठले जिल्लामा लक्षित समुहलाई लगाइने दादुरा-रुबेला खोप र भिटामिन ‘ए’ को पर्याप्तता यथेष्ट रहेको बताए ।