समाचार

माघ महोत्सवको सम्पूर्ण तयारी पूरा

अनलाइन नेपालगंज

मंगलवार, २६ पुष २०७९

नेपालगञ्जमा हुने दुई दिने लुम्बिनी प्रदेश स्तरीय माघ महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । थारु भाषा, संस्कृति, लोक कला र मौलिक हक अधिकारको जगेर्ना गर्ने उद्देश्यले नेपालगञ्जमा आयोजना गरिएको माघ महोत्सबको सम्पूर्ण तयारी पूरा गरिएको हो ।

थारू कल्याणकारिणी सभा बाँकेले यही पौष २७ र २८ गते नेपालगञ्जको रमलीला मैदानमा आयोजना गरिएको लुम्बिनी प्रदेश स्तरीय माघ महोत्सवको तयारी पूरा भएको जनाएको छ ।  थारु कल्याणकारिणी सभा बाँकेको आयोजनामा पौष २७ र २८ गते दुई दिने माघ महोत्सवमा अन्य आकर्षणका रूपमा थारू समुदायको परम्परागत भेषभूषा सहितको सांस्कृतिक प्रस्तुति, थारू विशेष खानाका प्रदर्शनी, मौलिक खानाका परिकारका प्रदर्शनी, हस्तकला सामग्री तथा थारू पहिरनको प्रदर्शनी लगायत स्थानीय झाँकीहरुको प्रवद्र्धन लगायत रहेको झाँकी तथा सांस्कृतिक व्यवस्थापन समितिका संयोजक भगतराम थारुले जानकारी दिए ।महोत्सवमा हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) लगायत ४५ बढी कलाकारको उपस्थिति रहने संयोजक थारुको भनाई छ । 

थारुले महोत्सव हेर्न आउने दर्शकहरुलाई मनोरञ्जनका लागि विभिन्न कलाकारहरुले थारु पहिरनमा सांस्कृतिक नृत्य, झुला, थारु परिकारका स्टल, विभिन्न किसिमका खेल लगायत थारु समुदायको पहिचान झल्काउने कार्यक्रमको प्रद्धशनी हुने संयोजक थारुले बताए । महोत्सवको उद्घाटन कार्यक्रममा प्रमुख अतिथीको रुपमा लुम्विनी प्रदेशका पर्यटन मन्त्री डिल्लीबहादुर चौधरी तथा बिशिष्ट अतिथी पूर्व मन्त्री फत्तेसिंह थारु र समाजसेवी गोपाल दहितको उपस्थिति रहने संयोजक थारुले जानकारी गराए । महोत्सवमा हरेक बिधाका उत्कृष्ट व्यक्तित्वलाई सम्मान पनि गरिनेछ ।  

महोत्सवको पहिलो दिन थारु कला, संस्कृति झल्किने थारु भेषभूषासहित हलो जुवा, छिट्वा, ढकिया, डेल्वा, छट्री, सहित नेपालगञ्जको मुख्य बजार धम्बोझी चोकदेखि निस्कने झाँकी सहितको र्याली सेतुविक चोक, न्युरोड, त्रिबेणी मोड, त्रिभुवन चोक, सदरलाइन, भेरी अस्पताल हुँदै रामलिला मैदानमा पुग्ने थारु कल्याणकारिणी सभा बाँकेले जनाएको छ । महोत्सवमा थारु परिकार ढिक्री, घोङ्घी, सिद्रा माछाको चटनी, आलुको अचार लागायत परिकारहरु प्रदर्शनीका साथै विक्री वितरणको लागि राखिने समेत आयोजकले जनाएको छ ।