तरुण नेताहरुमाथि दिनदहाडै हाक्काहाक्की सांघातिक आक्रमण भएपछि तरुण दलले घटनाको घोर भत्र्सना गरेको छ ।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल नेपालगञ्ज नगर कार्यसमिति सदस्य अनुराग शाह, उज्ज्वल शाह र शुभम शाहको ज्यान जाने गरी आज भएको सांघातिक आक्रमणको घटनाप्रति तरुण दलले घोर भत्सर्ना गर्दै आक्रमणमा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारवाहीको दायरामा ल्याउन ध्यानाकर्षण गराएको हो ।
तरुण दल बाँकेका सचिव विनोद रिजाल, नेपालगञ्ज सभापति सन्दिपजंग शाह र खजुरा सभापति कोमलराज सिंह ठकुरीले संयुक्त विज्ञप्ती निकालेर विगतमा पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका आपराधिक गिरोहले तरुण दलका सदस्यहरुमाथि ज्यान लिने गरी आक्रमण गरेको उल्लेख गरेका छन् । विज्ञप्तीमार्फत नगरमा निर्वाधरुपमा हिंड्डुल गरी आफ्ना दैनिक गतिविधि सञ्चालन गर्न सक्ने गरी शान्ति सुब्यवस्था कायम गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराइएको छ । पीडितलाई न्याय र दोषीमाथि कडा कारवाही नभए सशक्त आन्दोलनमा उत्रने चेतावनी तरुण दलले दिएको छ ।
नेपालगञ्ज ४ गणेशपुरमा आज दिउँसो एक समूहले धारिलो हतियार प्रहार गर्दा तीन जना घाइते भएका हुन् । उक्त समूहले खुँडा र खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि लखनउ रिफर गरिएको तरुण दल नेपालगञ्ज सभापति शाहले बताए । नेपालगञ्ज मेडिकल कलेजमा उपचारार्थ लगिएका तीनै जनालाई लखनउ रिफर गरिएको हो । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका उनीहरुको शरीरका विभिन्न भागमा गहिरो चोट छ ।
नेपाली कांग्रेस बाँकेले पनि घटनाको घोर भत्र्सना गरेको छ । सभापति नारायणप्रसाद गौडेलले घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारवाही गर्न प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन् । उनले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । यसैवीच उक्त घटनामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको बाँके प्रहरीले जनाएको छ ।