प्रतिवद्धता पुरा गर्नका लागि खत्री अहिलेदेखि नै पहल
अनलाइन नेपालगंज
बिहीबार, १४ पुष २०७९
लुम्विनी प्रदेशसभाका सांसद रत्न खत्रीले निर्वाचनको समयमा गरिएका विकास निर्माणका प्रतिवद्धता कार्यान्वयनका लागि पहल अघि बढाएका छन् ।
नेकपा एमालेका तर्फबाट बाँके क्षेत्र नम्बर ३(१) का निर्वाचित सांसद खत्री पूर्वाधार विकास कार्यालय नेपालगञ्जका प्रमुख गोविन्द महतारा सहित बैजनाथ गाउँपालिकाका विभिन्न वडामा पुगेका छन् । सांसदमा निर्वाचित भएपछि खत्री पहिलो पटक सम्वद्ध कार्यालयका प्रमुखसहित निर्वाचन क्षेत्रमा पुगेका हुन् ।
खत्रीले वडा नम्बर १,२,३,४,५ र ७ का विभिन्न स्थानमा तत्काल गर्न सकिने सडक तथा पक्कि पुल निर्माणको बारेमा स्थलगत अनुगमन गरि जानकारी लिए । सांसद खत्रीको अनुरोधका आधारमा पूर्वाधार विकास कार्यालयले सडक तथा पुल निर्माणका लागि तत्कालै डिपिआर बनाउने भएको छ ।
सो अवसरमा प्रदेश सांसद खत्री र कार्यालय प्रमुख महतारालाई एमाले नेता तथा निवर्तमान गाउँपालिकाका अध्यक्ष मानवहादुर रुचाल, पुर्व वडा अध्यक्ष मानबहादुर खत्रीले तत्काल गनुपर्ने सडक र पुलको विषयमा अवगत गराएका थिए ।
यसैगरी खत्रीले खजुरा गाउँपालिका वडा नम्बर ४ को ईगाउँदेखि बैजनाथको वडा नम्बर ७ पेडारी जोड्ने सडकको निर्माण अवस्थाबारे जानकारी लिएका छन् । खत्रीले प्रदेशको गौरबको योजना रहेको यो सडकका लागि बजेट ब्यवस्थापन गरि तत्कालै कालेपत्रेको रुपमा निर्माण कार्य अघि बढाउन पहल गर्ने बताए ।
सडक तथा अन्य पूर्वाधार विकास बारे निर्वाचनको समयमा गरिएका प्रतिवद्धता पुरा गर्नका लागि आफुले अहिलेदेखि नै प्रयास थालेको खत्रीको भनाई छ । उनले नयाँ सरकार गठन भएपछि वजेट ब्यवस्थापन गरि काम सुरु गर्नका लागि पहल गर्ने बताए ।