समाचार

डुडुवा गाउँपालिकाको नयाँ ६५ करोड ३१ लाख ९३ हजारको प्रस्तावित बजेट सर्वसम्मतरुपमा पारित

अनलाइन नेपालगंज

मंगलवार, ५ पुष २०७९

डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । गाउँपालिकाको आज बसेको १२औं गाउँसभाले एउटा विधियेक, नीति तथा कार्यक्रम र रु. ६५ करोड ३१ लाख ९३ हजारको प्रस्तावित बजेट सर्वसम्मतरुपमा पारित गरेको हो ।  हिजो प्रस्तुत भएको नीति कार्यक्रम र बजेटमाथि आज बसेको पुनः बैठकमा छलफल गरी सर्बसम्मत रुपमा पारित भएको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, वन तथा बातावरण, विकास निर्माण लगायतका १८ बुँदे महत्वपूर्ण नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 

कन्या मुद्दती शिक्षा योजना, संस्कृत भाषा, अवधि भाषा र उर्दु भाषाको संरक्षण र सम्बद्र्धन, एसइई उत्तीर्ण डुडुवा गाउँपालिकाका सबै छात्राहरुलाई प्रति छात्रा एउटा साइकल प्रदान गरी थप अध्ययनको लागि प्रोत्साहित, बाल उद्यानको स्थापना, तलाउ तथा पोखरीको संरक्षण, पिकनिक स्पटको निर्माण, राप्ती नदी र डुडुवा खोलामा डुंगा तथा ¥याफ्टिङ्ग संचालन तथा प्राचिन मठ, मन्दिर, गुम्वा, चर्च ,मस्जिद एवं गुरुद्वाराहरुको संरक्षण, मर्मत संभार तथा पुनःनिर्माण गरी पर्यटकीय क्षेत्रहरुका विकास, राप्ती नदी किनारमा स्नान घर र आर्यघाट व्यवस्थितरूपमा संचालन गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण, आवधिक योजना, क्षेत्रगत योजना, रणनीतिक योजना र गुरु योजना कार्यान्वयनमार्फत गाउँपालिकाको समग्र विकास, घरघरमा डुडुवा सरकारको अवधारणा कार्यान्वयन गर्न घर घर स्वास्थ्य कार्यक्रम, जेष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम, घरघर पशुसेवा कार्यक्रम, वडा वडामा प्रयोगाशाला सुविधा, टोलटोलमा घटनादर्ता अभियान र मालपोत संकलन अभियानलाई निरन्तरता नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । 

यसैगरी ’ग’ र ’घ’ वर्गका अशक्त अपांगहरुलाई त्रैमासिकरुपमा सामाजिक सुरक्षा भत्ता, गाउँपालिकाको वनकट्टीमा नवनिर्मित प्रशासनिक भवनबाट सेवा प्रावाहलाई नियमित सहज, सूचना प्रविधिमैत्री, अशक्तमैत्री र सेवाग्राहीमैत्री, भूमिहिन सुकुम्बासी तथा अब्यवस्थित बस्तीलाई प्रचालित भूमि ऐन बमोजिम कार्य प्रक्रिया अगाडि बढाउने, बाढी र डुवानको उच्च जोखिममा रहेको वस्तीहरुमा तटबन्धनको व्यवस्था, डुडुवा गाउँपालिका वडा नं–६ महाउत टोलमा सात सय मेटिक टन क्षमताको कोल्ड स्टोर निर्माण चालू आर्थिक बर्षमै सम्पन्न गरी किसानहरुको आलु विउ भण्डारण र तरकारी तथा फलफूल भण्डारण आत्मनिर्भरमा बनाइनेछ । कृषि बालीमा लाग्ने रोग किरा नियन्त्रण गर्न आवश्यक विषादी निःशुल्करुपमा वितरण, उन्नत पशु स्रोत केन्द्रको विकास गर्न कृत्रिम गर्भाधारण, नश्ल सुधार गरी कृषकको आम्दानीमा वृद्धि गर्ने लगायत रहेको छ । 

सभामा विधियेक समितिका संयोजक सम्सुद्दिन सल्मानीले डुडुवा गाउँपालिकाको आर्थिक विधियेक २०७९ प्रस्तुत गरेका थिए । हिजो प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमाथि आज थप छलफल गरी सर्बसम्मतरुपमा पारित गरिएको गाउँपालिका अध्यक्ष चौधरीले बताए ।