खेलकुद

बंगलादेशमा हुने साफ यू–२० वुमन्स च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

अनलाइन नेपालगंज

शुक्रबार, १ पुष २०७९

सन् २०२३ को फेब्रुअरी ३ देखि ९ सम्म बंगलादेशमा आयोजना हुने साफ यू–२० वुमन्स च्याम्पियनसिपको खेलतालिका सार्वजनिक भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बिहीबार सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले पहिलो खेल बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल फेब्रुअरी ३ मा हुनेछ । त्यही दिन भारत र भुटानबीच पनि खेल हुनेछ ।

च्याम्पियनसिपमा नेपाल, बंगलादेशसहित भारत र भुटान गरी चार टिमको सहभागिता छ ।

नेपालले फेब्रुअरी ५ मा भुटानसँग र फेब्रुअरी ७ मा भारतसँग लिग खेल्नेछ । सिंगल राउण्ड रोविन लिगपछि शीर्ष दुईमा रहने टिमले फेब्रुअरी ९ मा फाइनल खेल्ने छन् ।

सन् २०१८ मा साफ यू–१८ च्याम्पियनसिपको नामबाट सुरु भएको यस प्रतियोगिता २०२१ मा यू–१९ फर्म्याटमा भएको थियो भने २०२२ मा फेरी यू–१८ को नाममा भएको थियो ।

पहिलो पटक यो प्रतियोगिता यू–२० फर्म्याटमा आयोजना हुन लागेको हो । पहिलो संस्करणमा उपविजेता बनेको नेपालले अहिलेसम्म उपाधि जित्न भने सकेको छैन ।