समाचार

फलफूलमा लुकाएर प्रहरी हिरासतमै श्रीमानलाई ब्राउन सुगर पुर्‍याउने महिला पक्राउ

अनलाइन नेपालगंज

मंगलवार, २७ मंसिर २०७९

फलफूलमा लुकाएर प्रहरी हिरासतमै श्रीमानलाई ब्राउन सुगर पुर्‍याउने महिला पक्राउ परेकी छन्।

केही दिन पहिले दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ का २२ वर्षीय अशोक खड्का लागुऔषधसहित पक्राउ परेका थिए।

उनलाई प्रहरीले हिरासतमा राखेर लागुऔषध मुद्दा चलाई अनुसन्धान जारी राखेको थियो।

यही क्रममा सोमबार बिहान पौने ९ बजेतिर श्रीमानलाई फलफूल दिन भनेर हिरासतमा पुगेकी उनकी २६ वर्षीया श्रीमती शान्ति खड्का घर्तीले लुकाएर श्रीमानलाई ब्राउन सुगर दिएको तथ्य खुलेपछि उनी पक्राउ परेकी हुन्।

शान्तिले लगेको सामान चेक गर्ने क्रममा पाँच पुरिया ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले सेतोपाटीलाई बताए।

शान्तिले श्रीमानलाई हिरासतभित्रै लगिदिएको ब्राउन सुगरको तौल गर्दा एक सय २० मिलिग्राम रहेको डिएसपी गौतमले जानकारी दिए।

यसैबीच शान्तिलाई पनि पक्राउ गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान थालेको छ। उनलाई पनि लागुऔषधसम्बन्धी मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।