समाचार

जिल्ला प्रशासन कार्यालय बाँकेलाई लिखित निवेदन पेश गर्ने निर्णय

अनलाइन नेपालगंज

सोमबार, २६ मंसिर २०७९

बाँकेको नरैनापुर गाउँपालिकामा इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाको लागि गाउँपालिकाले अग्रसरता देखाएको छ । नरैनापुर गाउँपालिका कार्यपालिकाको आज बसेको बैठकले इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाको लागि आवश्यक व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय बाँकेलाई लिखित निवेदन पेश गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए । 

हाल सेवा प्रवाहमा सहज पहुँच नभएकाले संघियताको मर्म र भावना अनुसार एकीकृत तथा विकेन्द्रीकृत सेवा प्रवाह गर्ने राज्यको नीति अनुसार गाँउपालिका क्षेत्रभित्र रहने गरी इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाका लागि कार्यपालिकाबाटै निर्णय गरिएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए । ‘नरैनापुर गाउँपालिकाबाट जिल्ला प्रशासन कार्यालय पुगेर सेवा लिन असहज छ,’ अध्यक्ष शाहले भने, ‘नागरिकलाई गाउँ–गाउँबाट सेवा दिने संघीयताको मर्म र भावना अनुसार गाउाँपालिकामा इलाका प्रशासन, मालपोत र नापी कार्यालय आवश्यक छ । इलाका प्रशासन, मालपोत र नापी कार्यालयका लागि चाहिने भवनको व्यवस्था गाउँपालिकाले गर्नेछ ।’

कार्यालय प्रमुखको व्यवस्था गरिदिन बारम्बार विभिन्न निकायमा आग्रह गर्दा पनि बेवास्ता भइरहेको अध्यक्ष शाहको गुनासो छ । ‘नागरिकता, राहदानी र अन्य सिफारिस बनाउन सदरमुकाम जानुपर्ने बाध्यताको अझै अन्त्य भएन,’ उनले भने, ‘गाउँगाउँमा सिंहदरबार नाममा मात्र सीमित बन्यो ।’ उनका अनुसार विकास निर्माण लगायत पञ्जीकरण र विभिन्न सरकारी कामकाज स्थानीय तहबाटै हुने गरेपनि जनताले नागरिकता बनाउन सास्ती भोगिरहेका छन् । 

प्रशासनिक सेवाको सहजताका लागि इलाका प्रशासन, मालपोत र नापी कार्यालय जरुरी रहेको नरैनापुर–५ का वडा अध्यक्ष कृष्णचन्द्र मार्यले बताए । वडा नं. १ का अध्यक्ष इसाक जोलहाले कार्यालय स्थापना भए सदरमुकामदेखि ५५ किमीको दूरीमा रहेको सुईया र आसपासका सर्वसाधारण लाभान्वित हुने बताए ।

गाउँपालिका अध्यक्ष शाहको अध्यक्षतामा बसेको कार्यपालिका बैठकमा उपाध्यक्ष जयन्तीदेबी श्रीवास्तव, वडा अध्यक्षहरु इसाक जोलहा, मसूद अहमद शाह, मनोज शर्मा, कृष्णचन्द्र मौर्य, प्रेमचन्द्र मौर्य, प्रमुख प्रशासकीय मणिराम खराल, कार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।