समाचार

रुपईडिहामा करिब ६५ लाख रुपैयाँ बराबरको लागुऔषधि पक्राउ

अनलाइन नेपालगंज

बिहीबार, २२ मंसिर २०७९

नेपालगञ्जको सीमासँगै जोडिएको भारतीय बजार रुपईडिहामा करिब ६५ लाख रुपैयाँ बराबरको लागुऔषधिसहित एक नेपाली पक्राउ परेका छन् ।

रुपाईडिहा थानाका अनुसार मंगलवार १ बजे स्टेशन रोड रुपईडिहाबाट ६५ लाख नेपाली रुपैयाँ बराबरको १३२ ग्राम स्मेकसहित नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ बसुदेवपुरका सागर भन्ने व्यक्ति पक्राउ परेका हुन् ।

भारतीय जिल्ला बहराईचले सञ्चालन गरेको अपराध एवं अपराधी रोकथाम अभियानअन्गर्तत मंगलवार राती गस्तीमा रहेको टोलीले स्मेकसहित सागरलाई पक्राउ गरेको हो ।

रुपईडिहा थानाका प्रभारी निरीक्षक श्रीधर पाठकको नेतृत्वमा वरिष्ठ उपनिरीक्षक रुदल बहादुर सिंहसहितको गस्ती टोलीले रेलवे मालगोदाम रोडबाट शंका लागेर जाँच गर्दा सागरको पेटबाट उक्त स्मेक फेला पारेको थियो ।

पक्राउ परेका सागरले दिएको बयानका आधारमा संलग्न अन्य व्यक्तिको पनि नाम र ठेगानको भारतीय प्रहरीले पहिचान गरेको छ । सागरविरुद्ध रुपईडिहा थानामा मुद्दा दर्ता गरी बुधवार जिल्ला अदालत बहराईच पठाइएको भारतीय प्रहरीलाई उद्धृत गर्दै रुपईडिहाबाट पत्रकार सन्तोष शुक्लाले जनाएका छन् ।