समाचार

जुनसुकै बेला छड्के जाँच गर्ने र कारबाही हुन सक्ने

अनलाइन नेपालगंज

बिहीबार, २२ मंसिर २०७९

वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागले प्रदूषण जाँचपास विनाका सवारी साधन चलाएमा अबदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्ने भएको छ ।

वातावरण विभागले आगामी पुस १ गते पछि विभागको परीक्षणमा प्रदूषण जाँचपाँस हुन नसक्ने सवारी साधनहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको हो । विभागले आज एक सूचना जारी गर्दै जरिवानाको चेतावनी दिएको हो ।

विभागले हाल काठमाडौं उपत्यकाभित्र सन्चालित सवारी साधनहरुमा छड्के जाँच गर्दै आएको छ । ती मध्ये अधिकांश सवारी साधनले प्रदूषण जाँचपास नगरेको पाइएको थियो । सवारी साधनबाट निस्किने धुँवा परीक्षण गर्दा तोकिएको मापदण्ड भन्दा बढी प्रदूषण गरिरहेको पाइएकालाई एक पटकका लागि मर्मत गरी अवस्था दुरुस्त राख्न भनिएको छ ।

अब २०७९ पुस १ गतेपछि भने नगदै जरिवाना गर्ने र सवारीको मर्मत गरी तोकिएको मापदण्डको सीमासम्म मात्र प्रदूषण गर्ने बनाई जाँच पास गराएर मात्र सन्चालनमा ल्याउन दिने विभागले आज जारी गरेको सूचनामा उल्लेख छ । विभागले हरियो स्टिकर जारी भएको अवधि बाँकी रहेको अवस्थाका सवारी साधनमा पनि जुनसुकै बेला छड्के जाँच गर्ने र कारबाही हुन सक्ने विभागले बताएको छ ।