समाचार

नेपालगञ्ज विमानस्थलको रन वे नजिक मंगलवार बिहान वन्यजन्तु (निलगाई)

अनलाइन नेपालगंज

बुधबार, २१ मंसिर २०७९

नेपालगञ्ज विमानस्थलमा रहेको रन वे नजिक मंगलवार बिहान वन्यजन्तु (निलगाई) भेटिएपछि विमानस्थल कर्मचारी तनावमा परेका छन् । रनवे नजिक देखा परेको निलगाईका कारण विमानस्थलमा सुरक्षा खतरा बढेपछि धपाउने तयारी गरिएको छ ।

रनवे नजिक रहेको झाँडीमा अहिले पनि निलगाई लुकेर बसेकाले धपाउने प्रयास भइरहेको विमानस्थल कार्यालयका प्रमुख सुरेशप्रसाद खनालले बताए । उनका अनुसार मंगलवार बिहान करिव ८ बजेतिर रनवेको छेउमा निलगाई फेला परेको थियो । रनवेमा निलगाई भेटिएपनि विमानस्थल भने सुचारु रहेको प्रमुख खनालले बताए ।

नेपालगञ्ज विमानस्थल हुदै अचेल दैनिक रुपमा काठमाण्डौ र पोखराका लागि मात्रै १४ वटा ठुला जहाजले उडान भरिरहेका छन् । यसका साथै नेपालगञ्जबाट कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा पनि साना जहाजले दैनिक रुपमा करिव एक दर्जन जति उडान भर्छन् ।

काठमाडौंपछि अति ब्यस्त रहने दोस्रो विमानस्थलका रुपमा चिनिने नेपालगञ्ज विमानस्थलको सुरक्षामा भने लापरबाही भइरहेको यात्रुहरु बताउँछन् । उक्त विमानस्थलमा राम्रो तारबार नहुँदा वन्यजन्तु पटक पटक जहाजसँग ठोक्किने गरेको पाइएको छ ।

यसअघि पनि पटक पटक जहाजसँग रनवेमा बँदेल ठोक्किएको घटना सार्वजनिक भएको थियो । विमानस्थलभित्र बढेको झाडीमा बँदेल, स्याल, निलगाई जस्ता वन्यजन्तुहरुले बासस्थान बनाएको स्थानीय बासिन्दा बताउँछन् ।