विशेष

बाँकेका धार्मिक क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने

अनलाइन नेपालगंज

मंगलवार, २० मंसिर २०७९

नेपालगन्ज, ६ मङ्सिर : बाँके जिल्लाको राप्ती सोनारी र नरैनापुर गाउँपालिकामा रहेका मन्दिर तथा तीर्थस्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ ।

ती स्थानीय तहका भुवर भवानी मन्दिर र बाबा बर्फानी सन्तानेश्वर महादेव मन्दिरलाई नेपालगन्जको बागेश्वरी मन्दिरसँग जोडेर धार्मिक गन्तव्यको रुपमा विकास गर्ने योजना रहेको छ ।

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सूर्य ढकालले पाँच वर्षभित्र सन्तानेश्वर महादेव मन्दिरलाई व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

साथै उनले भुवर भवानी मन्दिर र बागेश्वरीलाई सन्तनेश्वर महादेव र बाबा बर्फानीसँग जोड्ने गरी ती स्थलहरूलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता दोहोर्‍याए।

‘धार्मिक पर्यटनको बाँकेमा प्रशस्त सम्भावना रहेको छ, त्यसका लागि उचित नीति र योजना आवश्यक छ,’ उनले भने ।

त्यस्तै समानुपातिक प्रतिनिधित्वका प्रदेशसभा सदस्य बसन्ती अधिकारीले सन्तानेश्वर महादेव मन्दिर पछिल्लो समय धार्मिक पर्यटकीयस्थल बन्दै गएको बताइन् । यी क्षेत्रको विकासका लागि पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु सञ्चालन गरिने उनले आश्वासन दिए ।

मन्दिरसम्म पुग्न अप्ठ्यारो र भिरालो भीर चढ्नुपर्ने भएकाले सन्तानेश्वर महादेव मन्दिरलाई तराईको पहाड भनिन्छ । नरैनापुर–६ बाट छ किलोमिटर उत्तरपूर्वमा अवस्थित यस ठाउँबाट तराईका मनोरम दृश्यहरू देख्न सकिन्छ।

यस मन्दिरले अन्य छिमेकी जिल्लाका पनि पर्यटकलाई आकर्षित गरेको स्थानीयवासी सोहनलाल यादवले बताए ।

सभासद् ढकालसहित ५० भन्दा बढी सदस्य रहेको टोली महादेवको दर्शन गर्न मन्दिर पुगेको थियो । ढकालले मन्दिरका पुजारी योगानन्द गिरीसँग कुराकानी गर्दै यस ठाउँको पर्यटन प्रवद्र्धनमा लाग्ने प्रतिबद्धता जनाए ।

उनका अनुसार यस क्षेत्रमा होमस्टे कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ ।