मुख्य खबर

‍बाँकेमा किन सांसद दोहोरिँदैनन्?

अनलाइन नेपालगंज

सोमबार, १२ मंसिर २०७९

नेपालगञ्ज- बाँकेवासीले प्रत्येक चुनावमा फरक-फरक व्यक्तिलाई चुनाव जिताउने गरेका छन्। २०६४ सालको संविधानसभा निर्वाचनयता जिल्लाका कुनै पनि क्षेत्रमा कुनै पनि व्यक्तिले दोहोरिएर चुनाव जितेका छैनन्।

बाँकेमा कहिले चार त कहिले तीनवटा निर्वाचन क्षेत्र बनाइयो। २०६४ सालमा यहाँ चारवटा निर्वाचन क्षेत्र थियो। पहिलो पटक निर्वाचनमा आएको माओवादी र मधेस आन्दोलनको तापमा रहेको मधेसी जनअधिकार फोरमले बाँकेका दुई-दुई क्षेत्र जिते।
परम्परागत ठूला शक्ति कांग्रेस र एमाले शून्यमा झरे। त्यतिबेला क्षेत्र नं. १ मा माओवादीका तिलक परियार र क्षेत्र नं. ४ मा पूर्णाकुमारी सुवेदीले चुनाव जित्दा क्षेत्र नं. २ मा फोरमका मो. इस्तियाक राई र सर्वदेव ओझा ‘माननीय’ भए। ओझाले कांग्रेसका हस्ती सुशील कोइरालालाई हराए।

२०७० को चुनावमा माओवादी र फोरम शून्यमा झरे। एमालेले तीनवटा क्षेत्र जित्दा कांग्रेसले एउटा क्षेत्र जित्यो। एमालेबाट क्षेत्र नं. १ मा देवराज भार, क्षेत्र नं. २ बाट दिनेशचन्द्र यादव र क्षेत्र नं. ४ मा दलबहादुर सुनारले चुनाव जिते। क्षेत्र नं. ३ बाट कांग्रेसका सुशील कोइरालाले बाजी मारे। २०६४ मा कोइरालालाई हराउने सर्वदेव ओझाले ७५ मत पाए भने राप्रपाका डा. धवलशमशेर राणा निकटतम प्रतिस्पर्धी भए।

२०७४ मा आइपुग्दा एमाले र माओवादीले मिलेर नेकपाबाट चुनाव लडे। तीनवटा निर्वाचन क्षेत्र कायम भएको बाँकेमा नेकपाले दुई र एउटामा फोरम (जसपा) ले जित्यो। क्षेत्र नं. १ मा नेकपा (माओवादी) का महेश्वर गहतराज र क्षेत्र नं. ३ मा नेकपा (एमाले)का नन्दलाल रोकाय तथा क्षेत्र नं. २ मा फोरमका मो. इस्तियाक राईले चुनाव जितेका थिए।

यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा फरक-फरक पार्टीले चुनाव जितेका छन्। क्षेत्र नं. १ मा एमालेका सूर्य ढकाल विजयी भए। २०७४ सालमा नेकपाबाट चुनाव जितेका हालका युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजको सत्ता गठबन्धनबाट उम्मेदवार बनेर दोस्रो पटक जित निकाल्ने सपनालाई एमालेका ढकालले अधुरो बनाइदिएका छन्।

क्षेत्र नं. २ मा लगातार दोस्रो पटक जीत निकाल्न लागिपरेका जसपाका मो. इस्तियाक राईको रफ्तारलाई राप्रपाका महामन्त्री डा. धवलशमशेर राणाले ब्रेक लगाइदिएका छन्।

२०५४ र २०७४ मा दुई पटक नेपालगञ्जको मेयर भएका डा. राणा २०७० सालको संसदीय निर्वाचनमा कांग्रेसका सुशील कोइरालासँग झिनो मतान्तरले पराजित भएका थिए।

क्षेत्र नं. ३ मा नेकपा हुँदा एमालेका नन्दलाल रोकायले जितेको यहाँ अहिले कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले बाजी मारेका छन्। राठौरले एमालेका बाँके जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपतिलाई पराजित गरेका छन्।

१५ वर्षको निर्वाचन परिणामलाई हेर्दा जिल्लामा कुनै व्यक्ति लगातार दोहोरिएका छैनन्। जनताले नयाँ अनुहारलाई अवसर दिएका छन्। प्रदेशसभामा भने क्षेत्र नं. १ को कमा माओवादीकी कृष्णा केसी दोहोरिएकी छन्।

२०७४ सालमा नेकपाबाट यहीबाट चुनाव जितेकी केसीले अहिले सत्ता गठबन्धनको उम्मेदवार भएर जीत हासिल गरेकी छन्। अन्य प्रदेशमा भने सबै नयाँ अनुहार आएका छन्।

६ वटा प्रदेशसभामध्ये दुईवटामा एमाले, दुईवटामा जसपा, कांग्रेस र माओवादी एक- एक वटा जितेका छन्।

एमालेले क्षेत्र नं. १ को ख, क्षेत्र नं. ३ को कमा क्रमशः दुर्गाप्रसाद चौधरी र रत्न खत्री, जसपाले क्षेत्र नं. २ को कमा भण्डारीलाल यादव र खमा आदेश अग्रवाल तथा कांग्रेसका बादशाह कुर्मीले क्षेत्र नं. ३ को खबाट जितेका छन्।

कांग्रेसबाट प्रदेशसभा जितेका बादशाह कुर्मी संविधानसभा सदस्य हुन्। उनी त्यतिबेला समानुपातिकबाट माननीय भएका थिए।