राजनिति

कैलाली–३ मा गंगाराम चौधरी विजयी

अनलाइन नेपालगंज

मंगलवार, ६ मंसिर २०७९

प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ कैलाली–३ मा गंगाराम चौधरीले सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई समेत हराएर विजयी भएका छन्।

जम्मा खसेको ६३ हजार ४ सय ४० मतमध्ये उनले २३ हजार १ सय २० मत पाए।

निकटतम् प्रतिद्वन्द्वी माओवादीका कृष्णकुमार चौधरीले १७ हजार ७ सय ४९ मत पाए।

यस्तै, एमालेका पूर्वमन्त्री समेत रहेका गौरीशंकर चौधरीले ९ हजार ८ सय ७४ मत प्राप्त गरे। राप्रपाका वीरेन्द्र बमले भने ७ हजार ४७ मत प्राप्त गरे। 

अब संसदमा टीकापुर घटनाबारेको प्रतिवेदन सार्वजनिक गर्न पहिलो आवाज उठाउने गंगारामको तयारी छ।

‘सदनमा बोलेको अन्तर्राष्ट्रिय समुदायले सुन्छ, ७, ८ वर्ष भइसक्दा किन टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक भएन? भनेर बोल्ने छौं,’ उनले भने।

योसँगै किसानका समस्या, बाढी पीडितका समस्या, बाटो घाटोको विषय,  विकास र रोगजगारका एजेण्डा सुनाएर नागरिकसँग भोट मागेको उनले बताए।

पार्टीले राखेका माग पूरा भए अब बन्ने सरकारमा पनि सहभागिता रहने उनले बताए।