विशेष

भुकम्पको जोखिम्मा नेपलगन्ज्का सहरहरु

अनलाइन नेपालगंज

शुक्रबार, २५ कार्तिक २०७९

पछिल्लोपटक गरिएको सर्वेक्षणले नेपालगञ्जका पुराना र घना बस्ती भएको शहरी क्षेत्र जोखिममा रहेको देखाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएनओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा सञ्चालित शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना अन्तर्गत् भवनहरुको द्रुत संकटासन्नता लेखाजोखा प्रसार कार्यशालामा प्रस्तुत गरिएको सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो ।

सहरी विपद् तथा भूकम्पीय जोखिमका हिसाबले सर्वेक्षण गरिएका दुई वडा ३ र ७ का जनघनत्व बढी भएका बस्तीहरु उच्च जोखिममा देखिएका हुन् । कार्यशालामा पश्चिम नेपालमा ठूलो भूकम्पको जोखिम रहेको भन्दै चुरे पहाडको रेन्जमा जोखिम अझ बढी हुने औंल्याइएको छ । नेपालगञ्ज पनि भूकम्पको जोखिममा रहेकाले पूर्व तयारी आवश्यक पर्ने बताइएको छ । विपद् प्रतिकार्य पूर्व तयारीलाई प्रभावकारी बनाउन जोखिमयुक्त बस्ती मानिएका नेपालगञ्जका वडा नम्बर ३ र ७ लाई छनौट गरी अध्ययन गरिएको हो ।

कार्यशालामा प्रस्तुतिकरण दिँदै संरचनात्मक इन्जिनियरिङ विशेषज्ञ सन्तोष श्रेष्ठले पुराना घरहरु र साँघुरा बस्तीहरु भूकम्पको उच्च जोखिममा रहेकाले पूर्व तयारी आवश्यक रहेको बताए । नेपालगञ्ज उपमहानगरपालिकालाई भूकम्पीय सुरक्षाका मापदण्ड कडारुपमा लागू गर्दै विपत् न्यूनीकरणका लागि आगामी योजना र बजेट विनियोजनमा सहजीकरण गर्ने उद्देश्यले पुराना र घना घर भएका वडा नम्बर ३ र ७ लाई छनौट गरी १४०८ घरको दु्रत संकटासन्नता सर्वेक्षण गरिएको बताइएको छ ।