विशेष

के हो त ट्वीटर ट्रेण्डिङमा रहेको #NoNotAgain र निर्वाचन आयोगको विषय ?

अनलाइन नेपालगंज

शुक्रबार, ११ कार्तिक २०७९

सामाजिक सञ्जालमा प्रमुख दलका शीर्ष नेताहरुलाई फेरि जिताउन नहुने भन्दै चलिरहेको अभियान शुक्रबार ट्वीटरको ट्रेण्डिङकाे पहिलाे नम्बरमा देखिएकाे हाे।

निर्वाचन आयोगले ‘नो नट अगेन’ नामक फेसबुक पेज तथा ग्रुपलाई बन्द गर्न निर्देशन दिएसँगै यसको व्यापक आलोचना भइरहेको छ । आयोगले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको तथा प्रमुख दलकै पक्ष लिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको हो ।

सामाजिक सञ्जालमा यतिबेला ह्यासट्याग नो नट अगेन ट्रेन्डिङमा रहेको छ । नेपालको ट्रेन्डिङ सूचीमा ह्यासट्याग नो नट अगेन पहिलो स्थानमा भएको हो । कात्तिक ८ गते आयोगले निर्वाचन मंसिर ४ गतेका लागि तय भएको अवस्थामा लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्यदृश्य सामग्री प्रकाशन गरेको भन्दै ‘नो नट अगेन’ पेज तथा ग्रुप हटाउन निर्देशन दिएको थियो ।

झूटा फेसबुक पेज तथा ग्रुपहरू सिर्जना गरी दलका नेताहरु विरुद्ध प्रचार प्रसार गर्ने कार्य विद्युतीय कारोवार ऐन र निर्वाचन (कसूर तथा सजाय) ऐनको प्रतिकूल रहेको आयोगको भनाइ थियो ।