खेलकुद

नवौँ राष्ट्रिय खेलकुदः साइक्लिङ भोलिदेखि, चार विधामा १४० खेलाडीले प्रतिष्पर्धा गर्ने

अनलाइन नेपालगंज

शुक्रबार, २८ आश्विन २०७९

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत साइक्लिङ खेल शनिबार सुरु हुँदैछ । पोखरामा हुने प्रतियोगितामा विभिन्न चार विधामा १ सय ४० खेलाडीले प्रतिष्पर्धा गर्नेछन् ।

सात प्रदेश र तीन विभागीय गरी १० क्षेत्रबाट प्रतिष्पर्धा रहने साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री, रोड रेस व्यक्तिगत ट्रायल र रोड रेस मास स्टार्ट विधामा प्रतिष्पर्धा गर्ने साइक्लिङ खेल उपसमिति सदस्य रञ्जनराज भण्डारीले बताए । उनका अनुसार डाउन हिल र क्रस कन्ट्री पोखराको ड्यामसाइड नजिक रानीवनको ट्रयाकमा प्रतिष्पर्धा गराइनेछ भने रोड रेस व्यक्तिगत र रोड रेस मास स्टार्ट पोखराको याम्दी–हेम्जा सडकमा प्रतिष्पर्धा हुनेछ ।

साइक्लिङको तयारी पूरा भइसकेको हुँदा शुक्रबार खेलाडीलाई ट्रयाक चिनाउने कार्य गरिएको नेपाल साइकल संघका प्रथम उपाध्यक्ष सुदिप पौडेलले जानकारी दिए । साइक्लिङ जोखिमयुक्त खेल भएकाले सुरक्षालाई विशेष ध्यान दिइने नेपाल साइकल संघ कास्कीका अध्यक्ष शंकर भण्डारीले बताए ।

साइक्लिङ खेलअन्तर्गत शनिबार पोखराको तितेपानी रानीवन क्षेत्रको ट्रयाकमा डाउन हिल विधाको प्रतिष्पर्धा हुनेछ । त्यस्तै आइतबार पनि सोही क्षेत्रमा क्रस कन्ट्री विधामा प्रतिष्पर्धा हुने र त्यसपछिका खेल याम्दी–हेम्जा सडक खण्डमा हुनेछ । चार विधाबाट साइक्लिङमा पुरुष महिला गरि ८ स्वर्ण, ८ रजत र ८ कास्यका लागि खेलाडीहरूले प्रतिष्पर्धा गर्नेछन् ।