राजनिति

नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर १ बाट सम्भावित उम्मेदवारको नाम सिफारिस

अनलाइन नेपालगंज

बिहीबार, १६ भाद्र २०७९

नेपालगन्ज : आसन्न मंसिर ४ गते हुन लागेको प्रतिनिधी सभा निर्वाचनका लागि नेपाली कांगे्रेसले बाँके क्षेत्र नम्बर १ बाट सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ । उक्त क्षेत्रमा प्रत्यक्षतर्फ नारायणप्रसाद गौडेल, माधवराम खत्री र हुर्मत न्यौपानेको नाम सिफारिस गरिएको छ । 

यस्तै समानुपातिकतर्फ नारायणप्रसाद सिग्देल, द्रोपदी ओली र लुटबहादुर केसी सिफारिसमा परेका छन् । गौडेल कांग्रेस बाँकेका सभापति हुन् । यस्तै खत्री नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का निर्वतमान सभापति हुन् । उनी २०७४ सालको प्रतिनिधी सभा निर्वाचनमा पनि उम्मेदवार बनेका थिए । 

यसैगरी न्यौपाने नेपाल तरुण दलको पुर्वमहामन्त्री हुन् । समानुपातिकका लागि सिफारिसमा परेका सिग्देल कांग्रेसका पुराना नेता हुन् । उनी २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट चुनाव लडेका थिए । तर, उनलाई नेकपा एमालेका देवराज भारले पराजित गरेका थिए । कांग्रेस नेतृ ओली पार्टीको महासमिति सदस्य हुन् । पार्टीकै महासमिति सदस्य रहेका केसीलाई यसअघि पार्टीले राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएको थियो । 

‘प्रतिनिधी सभा निर्वाचनका लागि क्षेत्रीय कार्यसमितिले प्रत्यक्ष र समानुपातिकतर्फ ३/३ जनाको नाम सिफारिस गरेको छ,’ क्षेत्रीय सभापति पोषणराज केसीले भने । क्षेत्रले गरेको उक्त सिफारिस जिल्ला, लुम्बिनी प्रदेश कार्यसमिति हुदै केन्द्रमा पुग्नेछ । तल्लो तहबाट आएका सिफारिसका आधारमा केन्द्रले उम्मेदवार छनोट गर्नेछ । क्षेत्र नम्बर १ का उपसभापति समेत रहेका प्रदेश सभा-१ ‘क’ का सभापति लक्ष्मण थारुले पनि सम्भावित उम्मेदवारको नाम क्षेत्रले जिल्लालाई सिफारिस गरिसकेको बताए । 

उक्त क्षेत्रमा २०७४ सालको प्रतिनिधी सभा निर्वाचनमा तत्कालिन बाम गठबन्धनले चुनाव जितेको थियो । बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नेता महेश्वर गहतराज अथकले चुनाव जितेका हुन् । उनले नेपाली कांग्रेसका उम्मेदवार खत्रीलाई पराजित गरेका थिए ।

यसपटकको निर्वाचनका लागि सत्तारुढ पाँच दलिय गठबन्धन बन्ने निश्चित भइसकेको छ । गठबन्धन भएका कारण उक्त क्षेत्रको भागबण्डा कांग्रेस वा माओवादी केन्द्र मध्ये कस्लाई पर्छ ? भन्ने आम चासोको विषय बनेको छ ।  कांग्रेसको बलियो गढका रुपमा चिनिने गरेपनि उक्त क्षेत्र २०५६ साल यता बामपन्थी दलको कब्जामा रहँदै आएको छ ।