अन्तराष्ट्रिय समाचार

युक्रेनको प्रमुख सहर सेभेरोडोनेट्स्क जाने सबै पुल ध्वस्त

अनलाइन नेपालगंज

मंगलवार, ३१ जेष्ठ २०७९

काठमाडौं । भीषण लडाइँ भइरहेको पर्वी युक्रेनी सहर सेभेरोडोनेट्स्कका जाने सबै पुलहरू ध्वस्त भएको स्थानीय गभर्नरले बताएका छन् ।

गभर्नर सेर्हेई हाइडाईका अनुसार सेभेरोडोनेट्स्कका सबै पुल ध्वस्त भएसँगै सहर पूर्ण रूपमा विच्छेद भएको छ । सेभेरोडोनेट्स्कका सबै तीनवटा पुलहरू ध्वस्त भएको विवरण हाइडाईले टेलीग्राममा पोस्ट गरेका छन् ।

यो सँगै त्यहाँ आपूर्ति व्यवस्था मिलाउन र नागरिकहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अब असम्भव भएको गभर्नर हाइडाईले बताए । बीबीसीका अनुसार सहरमा रहेका बासिन्दाहरूलाई अत्यन्तै कठिन परिस्थितिमा बाँच्न बाध्य पारिएको गभर्नर सेर्हेई लेखेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले उक्त सहरमा युद्धको मानवीय मूल्य डरलाग्दो भएको बताएका छन् । युक्रेनी सेनाले हर तरहबाट रुसी सेनासँग लडिरहेको उनले बताएका छन् ।

विवरणहरूमा जनाइए अनुसार उक्त सहरको लगभग ७० प्रतिशत हिस्सा अब रुसी नियन्त्रणमा पुगेको छ । हप्तौँदेखि सेभेरोडोनेट्स्कमा कब्जा गर्नु रुसका लागि उच्च सैन्य लक्ष्य बनेको छ ।

सेभेरोडोनेट्स्क र नजिकैको सहर लिसिचान्स्क कब्जामा लिँदा मस्कोलाई सम्पूर्ण लुहान्स्क क्षेत्रको नियन्त्रण सहज हुनेछ । उक्त क्षेत्रका धेरैजसो भू–भागहरू रुस समर्थित पृथकतावादीहरूद्वारा नियन्त्रित छन् ।

रुस समर्थित स्वघोषित डोनेट्स्क पिपुल्स रिपब्लिकका सैन्य प्रतिनिधिले उक्त सहरमा बाँकी रहेका युक्रेनी सेनाहरूले आत्मसमर्पण गर्नुपर्ने वा ज्यान दिनुपर्ने बताएका छन् । एकजना उच्च रुसी अधिकारीले मस्कोको उद्देश्य भनेको स्वघोषित पिपुल्स रिपब्लिक अफ डोनेट्स्क र लुहान्स्कको रक्षा गर्नु भएको बताए ।