खेलकुद

विश्वकप लिग टु : पहिलाे खेलमा नेपाल ओमानसँग पराजित

अनलाइन नेपालगंज

शुक्रबार, २७ जेष्ठ २०७९

काठमाडौं । अमेरिकामा जारी आईसीसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको छ ।

टेक्ससस्थित मोसा क्रिकेट मैदानमा शुक्रबार २ सय १२ रनको लक्ष्य पछ्याएको नेपाल १ सय ९८ रनमा समेटियो । नेपालका आरिफ शेखले ६६ रनको अर्धशतकीय इनिङ खेले । देव खनालले ३४ तथा रोहित पौडेलले २० र दिपेन्द्र सिंह ऐरीले १६ रन जोडे ।

त्यस्तै विनोद भण्डारीले १४, सोमपाल कामीले १३, डेब्यु खेलाडी सुनिल धमलाले १२, करण केसीले ८ रन जोडे । ओपनर सुवास खकुरेलले ३ तथा कप्तान सन्दीप लामिछाने २ रनमा आउट हुँदा सुशन भारी सुन्य रनमा अविजित रहे ।

ओमानका जिसन मक्सुद र खवर अलिले ३÷३ तथा बिलाल खानले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ११ रन जोडेको थियो ।

नेपालका करण केसीले ५ विकेट लिए । उनी सोमपाल कामी र सन्दीप लामिछाने पछि एकदिवसीय अन्तराष्ट्रियको एकै खेलमा ५ विकेट लिने नेपालका तेस्रो खेलाडी बनेका छन् ।

यस्तै सन्दीपले २ तथा सोमपालले १ विकेट लिए । हारसँगै नेपाल १२ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा छ । ओमान ३३ खेलमा ४२ अंक जोडेर शीर्ष स्थानमा छ । अब नेपालले अमेरिकाविरुद्ध शनिबार खेल्नेछ ।