विशेष

व्यक्ति, पार्टी नभई एजेन्डामा मतदान गर्न स्वतन्त्र उम्मेदवार दिनेश थापामगरको आव्हान

अनलाइन नेपालगंज

सोमबार, २६ बैशाख २०७९

नेपालगञ्ज । नेपालगन्ज उपमहानगरका स्वतन्त्र उम्मेदवार बनेका दिनेश थापामगरले उम्मेदवारको एजेन्डामा मतदान गर्न आव्हान गरेका छन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा व्यक्ति, पार्टी नभई उम्मेदवारको एजेन्डामा मतदान गर्न थापाले आव्हान गरेका हुन् ।

व्यवसायिक क्षेत्रमा क्रियाशिल उद्यमी समेत रहेका थापाले आफ्ना तर्फबाट निर्वाचनका लागि प्रतिबद्धता सार्वजनिक गर्दै एजेन्डामा बहस नगरी मतदान गर्दा पछुताउनु पर्ने बताए ।

थापाले विभिन्न क्षेत्रका प्रतिनिधिमूलक सवाललाई सम्बोधन गर्ने गरी तयार गरेको प्रतिबद्धता दिंदै भने, ‘राजनीति र युवा पुस्ता बीचको पुल बनेर मेरो उम्मेदवारी हो । अहिले गर्ने सामान्य भुलले आउने १० बर्ष फेरि युवाहरु पलायनको अवस्थामा पुग्छन् ।’

उनले राजनीतिलाई सफा गर्न दल भित्रबाट सम्भव नदेखिएकाले स्वतन्त्र युवाहरु प्रतिनिधिमूलक ढंगले अगाडि आउन जरुरी रहेको बताए । दैनिक नेपालगन्जसँगको अनर्तवार्तामा अनुरोध गर्दै थापाले भने, ‘कम्तिमा मतदाताले उम्मेदवारका योजना र दृष्टिकोणका आधारमा मत दिने वातावरणको सिर्जना गरिनु पर्छ ।’
स्वयंसेवक परिचालन गरी निर्वाचन अभियानमा खटिएका उम्मेदवार थापाले शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार, कृषि तथा पशुपालनलाई प्रतिबद्धतामा प्राथमिकता दिएका छन् ।

पेशाले इन्जिनियर थापा, व्यवसायिक कृषि र युवाहरुलाई खेलकुदका लागि प्ररित गर्दै आएका युवा हुन् । उनले नेपालगन्जको दीर्घकालीन विकासका लागि पर्यटनमा जोड दिएका छन् । खेलकुद, सुशासन, सामाजिक सुरक्षा, पर्यावरण, सरसफाई र सामाजिक सद्भावको सवाललाई प्रतिबद्धतामा समेटेका छन् ।