राजनिति

राप्रपाद्वारा नेपालगन्जका लागि २४ बुँदे चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

अनलाइन नेपालगंज

बिहीबार, २२ बैशाख २०७९

नेपालगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीले (राप्राले) नेपालगन्ज उपमहानगरका लागि आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

बुधबार नेपालगन्जमा पार्टी महामन्त्री समेत रहेका नेपालगन्ज उपमहानगपालिका नगर प्रमुख डा. धवल समशेर राणाको प्रमुख आतिथ्यतामा उम्मेदवार तथा दलका नेताहरुले २४ बुंदे प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

प्रतिबद्धतापत्रमा राप्रपाले नेपालगन्ज नगर भित्र सरसफाई र हरियाली कायम गर्ने विषयलाई पहिलो प्राथमिकतामा राखेको छ । आफ्नो कार्यालयको सम्पूर्ण तलब भत्ता सामाजिक कार्यमा खर्च गर्ने घोषणा गरेका नगर प्रमुख पदका उम्मेदवार वैश्यले शिक्षाबाट वञ्चित बालबालिकाहरुलाई पूर्ण रुपमा शिक्षाको पहुँचमा लैजाने कुरालाई उच्च प्राथमिकतामा राखेका छन् ।

यस्तै, नेपालगन्जलाई पर्यटकीय हबका रुपमा विकास गरिने वैश्यले सार्वजनिक गरेको प्रतिबद्धतामा उल्लेख छ । बेरोजगारी घटाउन सीपमूलक तालिम दिई स्वरोजगार सिर्जना गरिने पनि उल्लेख छ ।

नगर भित्र रहेका पिच हुन बाँकी सबै सडकहरुलाई एक तह स्तरोन्नती गरिने प्रतिबद्धता जनाएका वैश्यले नगर बाहिर र भित्र रिंगरोड निर्माणको महत्वाकांक्षी योजना पनि प्रस्तुत गरेका छन् । उनले नेपालगन्जलाई मेडिकल हबको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका वैश्यले अन्तर्राष्ट्रिय विमान स्थल निर्माणको पहल गर्ने विषयलाई पनि समेटेका छन् ।

नगर प्रमुख पदका उम्मेदवार नन्दलाल वैश्यले प्रतिबद्धतामा धेरै कुरा लेखेर काम नगर्नु भन्दा थोरै लेखेर धेरै काम गर्ने घोषणा गरे । ‘धेरै गफ दिएर काम नगर्नु भन्दा म जे काम गर्न सक्छु त्यो मात्रै प्रतिबद्धता जनाएर मतदाता माझ पुग्ने हो’, वैश्यले पत्रकारहरुसँग भने, ‘ढुक्क हुनुस्, यसमा लेखिएका भन्दा धेरै काम गरेर देखाउँछौं ।’

उपप्रमुख पदका उम्मेदवार बिन्दु चर्तिमगरले विशेषतः महिलाहरुको आयआर्जन र आर्थिक स्तरोन्नतीसँग जोडिएर योजना ल्याउने बताइन् ।