राजनिति

ठगी र किर्ते मुद्दामा एमालेबाट अध्यक्षमा उम्मेदवारी दिएका विष्टविरुद्ध पक्राउ पुर्जी

अनलाइन नेपालगंज

बुधबार, २१ बैशाख २०७९

काठमाडौं। नेकपा एमालेबाट स्थनाीय तह चुनावमा ओखलढुङ्गाको लिखु गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका मिलन कुमार विष्टविरुद्ध अदालतले पक्राउ गर्न अनुमति दिएको छ ।

उनी विरुद्ध जिल्ला अदालत भक्तपुरले ठगी र किर्ते मुद्दामा पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पक्राउ पूर्जी पठाएको डिएसपी सुकदेव खनालले जानकारी दिए ।

विष्ट विरुद्ध जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा दोहोरो नागरिकता लिएको बारे जाहेरी पनि परेको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालय र मिलन कुमार विष्ट र ओखलढुङ्गा जिल्ला प्रशासन कार्यालयबाट होमबहादुर विष्टको नाममा दोहोरो नागरिकता लिएको जाहेरीमा उल्लेख गरिएको छ ।

विष्ट विरुद्ध दोहोरो नागरिकता सम्बन्धी कसुरमा जाहेरी आएको र त्यसबारे अनुसन्धान भइरहेको ओखलढुङ्गाका डिएसपी सुकदेव खनालले जानकारी दिए ।

लिखु गाउँपालिका–९ (साविकको पोकली गाविस) घर भएका उनीविरुद्ध २०७७ सालमा भक्तपुरमा मुद्दा दर्ता भए पनि फरार रहँदै आएका थिए ।

उनी स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेपछि कांग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका अशोक कार्कीले निर्वाचन अधिकृतको कार्यालयमा विष्टविरुद्ध उजुरी दर्ता गराएका थिए ।