मुख्य खबर

बुटवलमा ३ सय ८३ तोला सुन र नगद पाँच लाख चोरी

अनलाइन नेपालगंज

बुधबार, १४ बैशाख २०७९

बुटवल । बुटवलमा करिब पाँच करोड मूल्यबराबरको गरगहना र नगद चोरी भएको छ । बिपी चोकमा रहेको नन्दराम सुनारको सुनचाँदी पसलबाट ३ सय ८३ तोला सुन र नगद पाँच लाख चोरी भएको हो ।

व्यवसायीहरूले आज पत्रकार सम्मेलन गरेर तीन सय ६० तोला तयारी गहना र २३ तोला काँचो सुन चोरी भएको जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको जनाइको छ ।

पसल राख्न भन्दै घर भाडामा लिएर उक्त व्यक्तिहरूले चोरी गरेको आशंका छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले सुन चोरी गर्नेहरूको खोजि भइरहेको बताए ।

योगेन्द्र अग्रहरिको घर भाडामा लिएर उनीहरूले कपडा पसल राख्न डेकोरेसनको कामसमेत थालेका थिए । भारतीय नागरिकहरू चोरीमा संलग्न रहेको आशंका छ । कपडा पसल राख्न भाडामा लिएकै घरमा सुन पसल पनि थियो ।

सुनचाँदी व्यवसायी संघ रूपन्देहीका अध्यक्ष रामकृष्ण विश्वकर्माले यो चोरीको घटना रूपन्देहीमा अहिलेसम्मकै ठूलो भएको बताए ।