मुख्य खबर

शुक्रवार अमेरिकी डेमोक्र्याटिक पार्टीका चार सिनेटर नेपाल आउँदै

अनलाइन नेपालगंज

मंगलवार, ६ बैशाख २०७९

काठमाडौं। अमेरिकी सत्तारुढ डेमोक्र्याटिक पार्टीका सांसदहरू एक समूह नेपाल आउने भएको छ ।

यही वैशाख ९ गते (शुक्रवार) अमेरिकी कंग्रेसको माथिल्लो सदनका चार जना सिनेटर ‘मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर र एड मार्की’ साथै तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्य मोन्डेयर जोन्स नेपाल आउने भएको हो ।

उनीहरु विभिन्न देशको भ्रमण गर्ने क्रममा नेपाल पनि आउन लागेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिए । उनका अनुसार नेपाल भ्रमणका बेला द्विपक्षीय कुटनीतिक सम्बन्ध र दुई देशका संसदबीचको सम्बन्धका बारेमा पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।

टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र कांग्रेस सांसद मिनेन्द्र रिजालको नेतृत्वमा रहेको नेपाल–अमेरिका मैत्रीपूर्ण संसदीय समितिसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

अरू विशेष भ्रमणको उद्देश्यबारे पुष्टि नभए पनि रुसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनको पक्षमा समर्थन जुटाउन उनीहरु विभिन्न देशको भ्रमणमा निस्कन लागेको बुझिएको छ । यो समूह वैशाख ११ गते आइतवार नेपालबाट फर्किनेछ ।