खेलकुद

बाँके जिल्ला फुटबल संघमा निर्वाचित भएपछि शाहीले भने, ‘म पदकै लागिमात्र फेरि चुनिएको होइन’

अनलाइन नेपालगंज

आईतवार, ४ बैशाख २०७९

बाँके । बाँके जिल्ला फुटबल संघको नेतृत्व पुनः भोजराज शाहीलाई दिइएको छ । पछिल्लो दुई कार्यकाल बाँके फुटबलको नेतृत्व गरेका शाही पुनः अध्यक्ष निर्वाचित भएका हुन् ।

जिल्लाका १२ वटा क्लबमध्ये ११ वटा क्लवले मतदानमा भाग लिएकोमा शाहीका पक्षमा ९ जनाले मतदान गरेका छन् । संघका अनुसार, धम्बोझी क्लबले केन्द्रमा मतदान गर्ने भएकाले यहाँ भाग नलिएपछि ११ मतमध्ये शाहीले ९ मत पाएका हुन् । अध्यक्षका अर्का प्रतिस्पर्धी रोयल नेपालगन्ज फुटबल क्लबका अध्यक्ष सूर्यमणि अधिकारीले दुई मत ल्याएका थिए ।

नवनिर्वाचित अध्यक्ष शाहीले फुटबलको विकासका लागि सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । ‘म पदकै लागिमात्रै फेरि चुनिएको होइन,’ अध्यक्ष शाहीले भने, ‘केही देखिने र सुनिने गरि काम गरेरै छाड्ने विचार तथा योजनाले आएको हुँ ।’

मतदानबाटै संघको उपाध्यक्षमा निर्मल चन्द, अनिल केसी र टोपेन्द्र खत्री निर्वाचित भएका छन् । सदस्यहरुमा गोवद्र्धनसिंह सम्झना, गोविन्दप्रसाद श्रेष्ठ, दिपेन्द्र घले, राजु तामाङ, अर्जुन खड्का, इन्द्रबहादुर राना, ईश्वर चन्द, दिपु राना, भोजबहादुर शाही र देवेन्द्र केसी निर्वाचित भएको संघले जनाएको छ ।