राजनिति

मेयरमा टिकट नपाएपछि डिल्लीराम घिमिरेले रुँदै एमाले त्यागे

अनलाइन नेपालगंज

मंगलवार, २९ चैत्र २०७८

झापा। झापा मेची नगरपालिकाको मेयरमा आकांक्षी नेकपा एमालेका जिल्ला कमिटि सदस्य डिल्लीराम घिमिरेले रुँदै पार्टी त्यागेका छन् ।

मेची नगरमा मेयरको उम्मेद्वार सिफारिसमा नपरेपछि उनले मंगलबार बिहान मेचीनगरका स्थानीय पत्रकारसँग आँसु खसालेर नेकपा एमालेको साधारण सदस्यता समेत नरहने गरी पार्टी परित्याग गरेको बताएका हुन् ।

मेची नगरमा घिमिरे नेकपा एमालेबाट नगर प्रमुख पदका लागि आकांक्षी थिए । तर, हालै सम्पन्न पाटीको आन्तरिक मतदान सहितको सर्वेक्षणमा उनी पछि परेका थिए । गएको स्थानीय तहको निर्वाचनमा पनि घिमिरे मेयरका लागि आकांक्षी थिए ।

उनले सहकर्मीहरुले पटक पटक आफूमाथि अन्याय गरेको भन्दै अन्याय सहनु भन्दा स्वतन्त्र जीवन जिउनु ठीक ठानेर एमाले छाडेको बताए ।

‘३१ वर्षअघि पार्टी सदस्य प्राप्त गरें, निरन्तर रुपमा एमालेको इमान्दार कार्यकर्ताको रुपमा काम गरें, तर पार्टीका केही नेताले मेरो अवमुल्यन गरेर अवसरबाट वञ्चित गर्ने र घेराबन्दीमा पार्ने काम गरें,’ पत्रकार सम्मेलनमा आँसु खसालेका उनले भने, ‘मलाई पार्टीका नेताहरुले रुहाउँदै रुहाउँदै निष्काशन गरे, म आफैं निस्किएको हैन, मलाई निकालेका हुन्, निस्किन बाध्य पारेका हुन् ।’

पार्टीमा जीवन विताएपछि जिम्मेवारी र अवसरको आशा गर्नु स्वभाविक भएको भन्दै उनले कसैलाई थपि थपि जिम्मेवारी दिने र कसैलाई अवसरबाट बञ्चिन गर्ने काम एमालेको स्थानीय नेतृत्वबाट भएको आरोप लगाए । उनले भने, ‘मेरो आँसुले मलाई अन्याय गर्नेहरुलाई पिरोल्ने छ, जसले मलाई यो पार्टीबाट रुँदै रुँदै बाहिरिने अवस्था सिर्जना गरे ।’

पत्रकार सम्मेलनमार्फत एमाले छाडेको घोषणा गरेका उनले स्वतन्त्र बामपन्थीका रुपमा बस्ने तत्काल अरु पार्टीमा नजाने पनि बताए । ६५ वर्षको उनले आफूले सकुञ्जेल वर्गीय जनताको पक्षमा काम गरिरहने बताए ।