बाँके । आगमी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि बाँकेमा चार हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन हुने भएको छ ।
निर्वाचन सुरक्षा प्रयोजनका लागि मतदान स्थल र केन्द्रको संवेदनशीलता अनुसार सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीअनुसार पहिलो घेरा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र आवश्यक पर्ने ठाउँमा नेपाली सेना समेत परिचालन गरिनेछ । उनले भने, ‘जिल्ला भर गरेर चार हजारको आसापसमा सुरक्षाकर्मी निर्वाचनका लागि परिचालन गर्नुपर्ने अनुमान गरेका छौं ।’ उनले सेना भने अति संवेदनशील रहेको क्षेत्रमा मात्रै खटाइने जानकारी दिए ।
बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले १ हजार ६ सय बढी म्यादी प्रहरी तालिममा रहेको, थप प्रहरी समेत निर्वाचनका लागि प्राप्त हुने भएकाले मापदण्ड निर्धारण भएपछि सोही अनुसार खटिने बताउँछन् ।
‘१ हजार, सो भन्दा बढी भन्दा २ हजार सो भन्दा बढी मतदाताले मतदान गर्ने स्थलमा सुरक्षाकर्मीको संख्या बढ्छ’, प्रमुख जिल्ला अधिकारी खत्रीले भने, ‘निर्वाचनलाई सुरक्षित बनाउन लागि परेका छौं ।’ प्रजिअ खत्रीले बाँकेका १ सय १ अति संवेदनशील र ३५ संवेदशील मतदान केन्द्र रहेको बताएका छन् ।