मुख्य खबर

राजी समुदायका १२ वटा घरपरिवारलाई १ करोड ३० लाखमा संयुक्त आवास

अनलाइन नेपालगंज

बुधबार, २१ जेष्ठ २०७७

प्रेम विश्वकर्मा, बारबर्दिया, बर्दिया ।

बारबर्दिया नगरपालिका बर्दियाका १२ वटा राजी समुदायका घरपरिवार अब आफनै घरमा खुसीका बस्न पाउने भएका छन ।

वडा नम्बर ३ को खुरखुरिया जंगलमा बस्दै आएका अति गरिब तथा विपन्न घर परिवारलाई संयुक्त आवास अन्र्तगत नयाँ घर बनाएर दिन थालीएको हो ।

उनीहरुले अबको केही महिना भित्रमै घर पाउने भएका छन ।

संघीय सरकारको तराई समृद्धि कार्यक्रम अन्र्तगत प्राप्त ५० लाख रुपैंया र बारबर्दिया नगरपालिकाको ८० लाख रुपैंया बराबरको लागतमा वडा नम्बर १० मा संयुक्त आवास अन्र्तगतका घरहरु तयार भएका छन ।

२ कोठा र भन्सा, खानेपानी, शौचालय, नाली, बाटो र एकै किसिमको डिजाइन भएका यि घरहरु भुकम्प प्रतिरोधात्मक भएको बारबर्दिया नगरपालिकाका नगर उपप्रमुख अञ्जु दहितले जानकारी दिनुभयो ।

ठेकदार मार्फत निर्माण गरिएका घरहरुमा अन्तिम चरणको काम अहिले भइरहेको छ । गुणस्तरियतालाई ध्यान दिई नियमित अनुगमनको कार्यलाई जारी राखेको नगर उपप्रमुख दहितले बताउनुभयो ।

विभिन्न समस्याले ग्रसित अल्पसंख्यक, सीमान्तकृत र लोपोन्मुख राजी समुदायका ब्यक्तिहरु नयाँ घर पाउने भएपछि खुसी भएका छन ।

वडा नम्बर ३ कै खुरखुरिया जंगलमा बस्दै आएका अन्य १८ घरपरिवारलाई पनि यसैगरी ब्यवस्थापन गरिने नगर उपप्रमुख अञ्जु दहितको भनाई छ ।

स्थानीयहरुले जोतभोग गरिरहेकै सरकारी जग्गामा घरबास लागी मात्र राजी समुदायलाई संयुक्त रुपमा बसाउन लागीएको छ । उनीहरुलाई प्रति ब्यक्ति १० देखी ११ धुरसम्म जग्गा परेको छ ।

बस्नका लागी राजी समुदायले सुरक्षित राम्रो घर पाए पनि त्यहाँ खानेपानी खेतीपाती गर्नको लागी भने जग्गा उपलब्ध छैन ।

बारबर्दिया नगरपालिकाकै वडा नम्बर ९ ढकैला क्षेत्रमा पनि करिब २ सय जति राजी समुदायका घरपरिवार रहेका छन ।

यहाँ अधिकांशको ब्यवस्थापन भइसकेको छ । भने केहीलाई ब्यवस्थापन गर्नुपर्ने देखिएको छ ।

अब्यवस्थित बसोबास, घरजग्गा विहीनलाई संयुक्त आवास कार्यक्रम मार्फत ब्यवस्थापन गर्न बारबर्दिया नगरपालिकाको स्थानीय सरकारले सक्रियता बढाएको हो ।

गुडन्युज खबर डटकमबाट…