विशेष

क्‍वारेन्टाइनमा भद्रगोल : शौच गर्न खेतमा, सुत्‍न घरमा

अनलाइन नेपालगंज

मंगलवार, ६ जेष्ठ २०७७

बाँके, कपिलवस्तु, रुपन्देही / क्वारेन्टाइन भनेको संक्रमण अवधिभर आशंकितलाई छुट्टै राखेर रोगको निदान गर्ने परीक्षण विधि हो । तर बाँके नरैनापुर गाउँपालिकाको क्वारेन्टाइन हेर्दा लाग्छ, यहाँ परीक्षण होइन, मानिसहरूलाई थुन्नका लागि राखिएको छ । यहाँ क्वारेन्टाइनमा पालना गर्नुपर्ने कुनै नियम पालना भएको छैन, जसले गर्दा संक्रमण नभएकालाई पनि संक्रमण हुने निश्चितजस्तै छ ।

क्वारेन्टाइनमा बसेकाहरूबीच सामाजिक दूरी पालना गरिएको छैन । भारतबाट आएका युवा एउटै कोठामा आठ जना कोचिएर बस्ने गरेका छन् । उनीहरू बिछ्यौना नभएको भन्दै सुत्न घरै पुग्छन् र बिहान लुसुक्क आइपुग्छन् ।

यस्तो बेथितिपूर्ण स्थानीय क्वारेन्टाइनमध्येको एक हो– नरैनापुर–४ स्थित फतिमा मदरसाको क्वारेन्टाइन । यहाँ २३ जनालाई तीनवटा कोठामा खाँदेर राखिएको छ । मदरसामा शौचालय नभएकाले शौच गर्न खेतबारीमा पुग्छन् क्वारेन्टाइनमा बसेकाहरू । कतिपय शौच गरेर घरतिर जान्छन् । जिल्लाका मानवअधिकारकर्मी र अधिवक्ताहरूको टोलीले सोमबार सातवटा क्वारेन्टाइनको अनुगमन गरेको थियो । सबै क्वारेन्टाइन मापदण्डअनुरूप नरहेको टोलीको निष्कर्ष छ । ‘क्वारेन्टाइनमा बसेकाहरू राति घरमै गएर सुत्ने गरेको समेत पाइयो,’ अनुगमनमा गएकामध्ये एक अधिवक्ता सुरेशकुमार गौतमले भने, ‘यस्तो तालले समुदायमै कोरोना संक्रमण फैलिएको पक्का छ ।’

टोलीका अनुसार क्वारेन्टाइनमा बस्ने सद्दे मान्छे पनि बिरामी हुने खतरा बढेर गएको छ । क्वारेन्टाइनमा सुत्ने, खाने, दिन बिताउने र मनोरन्जनका सामग्रीको अभाव मात्रै होइन, एउटै शौचालयमा भीड लगाएर जानुपर्ने बाध्यतासमेत रहेको गौतमले बताए । ‘क्वारेन्टाइन व्यवस्थित नहुँदा भाग्नुपर्ने स्थितिसमेत आएको छ,’ उनले भने, ‘स्वास्थ्यकर्मी पनि समयमै जाँचका लागि पुग्दैनन्, यसले बिरामीमा थप नैराश्य थपिएको छ ।’

स्थानीय बासिन्दा क्वारेन्टाइनको लापरबाहीले आफूहरू पनि खतरामा परेको बताउँछन् । ‘क्वारेन्टाइनमा बसेकाहरू रातारात घर आउने/जाने गर्छन्,’ स्थानीय रामानन्द शर्मा भन्छन्, ‘हामी गाउँका सबै जोखिममा छौं, अनुगमन गर्ने कोही छैन ।’ नरैनापुर–४ का वडाध्यक्ष दिनेशप्रसाद शर्मा शौचालय भए पनि क्वारेन्टाइनमा बस्नेले प्रयोग नगरेकाले समस्या थपिएको बताउँछन् । ‘क्वारेन्टाइनमा बसेकाहरू सुरक्षाकर्मीलाई टेर्दैनन्,’ उनले भने, ‘खेतमै शौचालय गर्ने बानी परेकाले लुकेर उतै जान्छन् ।’

क्वारेन्टाइनमा गएपछि झन् जोखिम

कपिलवस्तुको मायादेवी गाउँपालिका–३, बड्की खैराटीका सुनिल रैदासलाई स्थानीय क्वारेन्टाइनमा पेट दुख्ने, पखाला लाग्ने र ज्वरो आउने भएर छट्पटिएको १२ घण्टाभन्दा बढी भयो । सोमबार दिउँसोसम्म उनी नेपाल राष्ट्रिय प्रावि क्वारेन्टाइननजिक रहेको रुखमुनि सहयोगका लागि हारगुहार गरिरहेका थिए । ‘तर उनको चित्कार कसैले सुनेनन्,’ उक्त क्वारेन्टाइनमा बसिरहेका बुधराम रैदासले भने, ‘कसरी उसलाई सहारा दिउँ ।’ सुनील दिल्लीबाट आएका हुन् । त्यसैले कोभिड–१९ संक्रमणको त्रास छ ।

आइतबार बिहानदेखि बिरामी उनलाई अपराह्न एकपटक सदरमुकाम तौलिहवा ल्याइएको थियो । डाक्टरले टाढैबाट हेरेर औषधि लेखिदिए र आइतबार राति ११ बजे फर्किए । तर, उनी सोमबार फेरि थलिएका छन् । सुनीलका बाबु अपांग छन् । आमा छैनन् । तनावमा क्वारेन्टाइनमा बस्नु परिरहेको बुधरामले बताए । ‘क्वारेन्टाइनमा रहेका ६० जना उनलाई टुलुटुलु हेरेर बस्न बाध्य छौं,’ उनले भने । क्वारेन्टाइनमा स्वास्थ्यकर्मी छैनन् । त्यसैले उपचारका लागि सुनुवाइ गर्ने कोही छैन ।

कृष्णनगर नगरपालिका–३ को सिराजुल उलुम मदरसाको क्वारेन्टाइनमा बस्ने ४० जना खाना नपाएपछि शनिबार भागेर घर गए । उनीहरू गाउँ पुगेपछि त्रास फैलियो । गाउँलेले उनीहरूलाई सम्झाइबुझाइ गरेर क्वारेन्टाइनमै फर्काए । १० दिनसम्म बसिसकेका उनीहरू क्वारेन्टाइनको अवस्थाले दिक्क बनाएपछि भागेका हुन्, जहाँ चार कोठामा ४५ जना बस्नु पथ्र्याे, बसिरहेका छन् । त्यस क्वारेन्टाइनको एउटा कोठामा आठ जनाको दुई परिवार छ । एउटा कोठामा १०/११ जना बसेका छन् । ‘गर्मी उधुम छ,’ त्यहाँ बसिरहेका अनवल अलीले भने, ‘साना नानीहरू रातभरि सुत्दैनन् । बत्ती छैन । एउटा शौचालय छ । त्यसमा महिला र बालबालिका जान्छन् । अरू पुरुषलाई शौचालय छैन ।’ उनका अनुसार पुरुष खेतमा जान्छन् । ‘क्वारेन्टाइनमा बसेका व्यक्ति बाहिर जानु राम्रो मानिँदैन,’ स्थानीय मन्नान धुनियाले भने, ‘उनीहरू दिसापिसाब गर्न बाहिर जान्छन् । उतै गफ चुटेर बस्छन् ।’

उनीहरूलाई नगरपालिकाले बेवास्ता गरेको छ । खाना र खाजा मात्रै होइन, बिस्तारा पनि दिएको छैन । भएको एक सुरक्षाकर्मी पनि फिर्ता भएका छन् । अहिले उनीहरू निस्फिक्री छन् । घर आउआउ गर्छन् । सबैले आआफ्नो घरबाट ल्याएको खाना खाइरहेका छन् । खाजा पनि घरैबाट लैजान्छन् । यहाँका ९० प्रतिशत क्वारेन्टाइन सरकारले बनाएको मापदण्डअनुसार छैनन् । अधिकांश घनाबस्तीमा छन् । विद्यालयका साँघुरा र अँध्यारा कोठमा छन् । बिजुली छैन । सीमित धारा र ह्यान्ड पम्प छन् । ४/५ कोठाका लागि एउटा शौचालय छ ।

बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलाई छुट्टै क्वारेन्टाइनमा राख्नुपर्नेमा एउटैमा राखिएको छ । स्नान गृह त कहीं छैनन् । टेलिफोन सेवा पनि छैन । खाट नपाएर आफू भुइँमा सुतिरहेको यशोधरा गाउँपालिका–५, मुडिलाको जनता आधारभूत प्रावि क्वारेन्टाइनमा बसेका अतुल मिश्रले बताए । ‘रातभरि लामखुट्टे धपाउँदै बस्छौं,’ उनले भने, ‘सुत्न पाइँदैन । ५ कोठामा ४५ जना सुत्छौं ।’

एउटा कोठा दुई परिवारका लागि छाडिदिएको उनले बताए । ‘शुक्रबार माटो र ढुंगा मिसिएको दाल दिए,’ उनले भने, ‘दाँतमा लागेर दुख्यो । दुई दिन खानै नसक्ने खाना थियो ।’ त्यसपछि हुलादंगा गरेको उनले बताए । अहिले राम्रो खाना दिएको तर खाजा नदिएको उनले बताए । गाउँका देवेन्द्रनारायण मिश्रले आफ्नो खर्चमा मास्क, केरा, चाउचाउ र भुजा दिइरहेको उनले सुनाए ।

महाराजगन्ज नगरपालिका–७, कुशहवाकी इलाइन कहारको दैनिकी श्रीमान् रामऔतारलाई क्वारेन्टाइनमा खाना र खाजा लैजाँदैमै बितिरहेको छ । नगरपालिकाले खाना र खाजा नदिएपछि उनी बिहान र साँझ आफैं लिएर जान्छिन् । उनका श्रीमान् रत्नराज्य आधारभूत प्राविको क्वारेन्टाइनमा बसेका छन् । १० दिनदेखि खाना घरबाटै ल्याएर दिइरहेको उनले सुनाइन् । क्वारेन्टाइनमा एउटा मात्रै शौचालय भएकाले एक घण्टा कुर्नुपर्ने रामऔतारले बताए ।

जिल्लाका १० स्थानीय तहमा करिब २ सय क्वारेन्टाइन बनाइएका छन् । तिनमा ७ हजारभन्दा बढी बसेका छन् । अहिलेसम्म यहाँ संक्रमितको संख्या ४३ पुगेको छ । सबैभन्दा धेरै यशोधरा गाउँपालिकामा १२, कपिलवस्तु नगरपालिकामा ९, कृष्णनगर नगरपालिकामा ८, मायादेवी गाउँपालिका र बुद्धभूमि नगरपालिकामा ४/४, शुद्धोदन गाउँपालिकामा १ जना संक्रमित छन् । त्यस्तै वाणगंगा नगरपालिकाकी एक ६ वर्षे बालिकामा काठमाडौंमा र विजयनगर गाउँपालिकाका एक जनाको भीम अस्पताल भैरहवामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये चार सुरक्षाकर्मी र दुई कर्मचारी छन् ।

खान र बस्न समस्या

रूपन्देहीको सम्मरीमाई–२ स्थित श्री पिपरी प्रवासी आधारभूत विद्यालय क्वारेन्टाइनमा आइतबार खानामा कीरा भेटिएपछि त्यहाँ रहेका व्यक्तिले खाएनन् । ‘प्लास्टिकमा पोको पारेर खाना ल्याइदिएका थिए,’ त्यहाँ रहेका एक व्यक्तिले टेलिफोनमा भने, ‘भातमा कीरा देखेपछि खाएनौं ।’ उनीहरूले आइतबारसम्म घरबाटै खाना मगाएर खाइरहेका थिए ।

जिल्ला प्रशासनले संक्रमणको जोखिम हुने भनेर वडालाई खाना व्यवस्थापन गर्न निर्देशन दियो । त्यसपछि वडा कार्यालयले सोमबार उपलब्ध गराएको खानामा कीरा भेटिएपछि उनीहरूले खान नमानेको बताए । ‘एक/दुइटा भए पनि फ्याँकेर खान हुन्थ्यो,’ उनले भने, ‘सबै पोकामा कीरैकीरा भेटियो ।’ त्यसपछि खानाका पोका लगेर कोठाबाहिर राखेको उनले बताए । खानाबारे गुनासो गरेपछि वडाध्यक्षले राम्रो व्यवहार नगरेको उनले बताए । त्यहाँ बसिरहेकाको स्वास्थ्य जाँच गरिएको छैन । विद्यालयमा चारवटा शौचालय भए पनि ताला लगाएर राखिएको थियो । त्यसपछि दुईवटाको ताला फुटाएर प्रयोग गरेका छन् । सबैलाई नपुग्ने भएपछि खेतमा शौच गर्न जाने गरेको उनले बताए ।

सम्मरीमाई–२ का वडाध्यक्ष नेवास अली दर्जीले पुरानो चामल भएकाले पोकामा एक/दुईवटा कीरा देखिएपछि सबैले नखाएर फिर्ता पठाएको बताए । ‘नियत होइन,’ उनले भने, ‘सबै स्थानीय हुन् । नराम्रो गरिन्न ।’ एक साताअघि सम्मरीमाई गाउँपालिका–४ मा भारतमा लामो अवधि क्वारेन्टाइनमा बिताएका स्थानीय आए । भारतको सिद्धार्थनगरमा क्वारेन्टाइन अवधि पूरा गरेकाले स्वास्थ्य परीक्षण नहुँदासम्म घर नजान भनियो । ‘परिसरमा पाल टाँगेर व्यवस्थापन गर्न भने,’ सम्मरीमाई–४ का वडाध्यक्ष दिवाकर दुवेले भने, ‘त्यसपछि पाल टाँगेर बिस्तारा व्यवस्था गरिदियौं ।’

दुवेका अनुसार वडास्थित दुईवटा क्वारेन्टाइनमध्ये एकमा ७९ र अर्कोमा १९ जना छन् । धेरै जना बसिरहेकामा तीनवटा शौचालय छन् । अर्कोमा छैन । उनीहरू आइतबार आएकाले शौचालय निर्माणका लागि सामग्री खोजी गरिरहेको दुवेले बताए । ‘सामान पाउन मुस्किल छ,’ उनले भने, ‘न मिस्त्री पाइन्छ, न रिङ ।’ मंगलबारसम्म चर्पी बनाउने उनले बताए ।

सीमावर्ती लुम्बिनी सांस्कृतिक नगरपालिकाले भारतबाट आउनेको चाप बढेपछि २२ ठाउँमा क्वारेन्टाइन स्थल बनाएर ६ सय ५५ जना राखेको छ । प्रत्येक वडामा क्वारेन्टाइन बनाउने योजना थियो । दूरी टाढा भएपछि एउटै वडाका दुईवटा विद्यालयमा पनि बनाइएको छ । नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख धु्रव घिमिरेका अनुसार क्वारेन्टाइनको चापअनुसार विद्यालयमा शौचालय छैनन् । कुनैमा दुई र केहीमा तीन शौचालय छन् । सबैले साझा रूपमा शौचालय प्रयोग गर्छन् । ‘खाना र खाजाका लागि प्रतिव्यक्ति २ सय ५० रुपैयाँका दरले छुट्याइएको छ,’ घिमिरेले भने, ‘केही व्यक्तिका घरबाटै ल्याउँछन्, उनीहरूलाई पैसा दिइन्छ । क्वारेन्टाइनमै खानेका लागि क्याटरिङ व्यवस्थापन गरिएको छ ।’

खाना पकाएर खुवाउने मानिस नभेटिएपछि नजिकका व्यक्तिका परिवारलाई खाना ल्याउने अनुमति दिएको उनले जनाए । घरबाट खाना ल्याउँदा संक्रमणको जोखिम हुने उनले बताए । ‘दैनिक ४० जनाका दरले मानिस थपिरहेकाले खाना व्यवस्थापनको चुनौती उत्तिकै छ,’ उनले भने, ‘क्वारेन्टाइनमै पकाइदिने मानिस नपाएपछि बाध्यता भयो ।’ तराई भएकाले लामखुट्टेको बिगबिगी छ । सर्पको डर छ । क्वारेन्टाइनमा अहिलेसम्म झुलको व्यवस्था छैन । त्यसको सट्टा धुप जलाउने व्यवस्था गरिएको घिमिरेले बताए ।

मर्चवारी गाउँपालिका–३ को क्वारेन्टाइनका कोठामा नअटाएपछि विद्यालय परिसरमा खाट राखेर स्थानीयलाई राखिएको छ । त्यहाँको क्वारेन्टाइनमा १ सय ८० जना रहेका छन् । परिसरमा १५ वटा खाट राखिएको छ । एउटै कोठामा १४ जनासम्म रहेका छन् । सबैले सामाजिक दूरी पालना नगरेको र सम्झाउँदा अटेर गरिरहेको गाउँपालिकाको स्वास्थ्य शाखाका एक कर्मचारीले बताए । उनका अनुसार त्यहाँ रहेका व्यक्तिलाई मास्क उपलब्ध गराइएको छ । मर्चवारका सामाजिक अभियन्ता रामविकास चौधरीले सीमाका पालिकाको क्वारेन्टाइन अनुगमन गर्दा अधिकांशमा शौचालयको कमी र संक्रमितको सम्पर्कमा आएकाको स्वास्थ्य जाँचमा ढिलाइ भइरहेको पाइएको बताए । रूपन्देहीमा सोमबारसम्म २८ जना संक्रमित छन् । उनीहरू सबै भारतबाट आएका हुन् ।

वडाध्यक्षले भगाए

यशोधरा गाउँपालिका–८ का दुई क्वारेन्टाइनबाट भागेका ४० जनालाई प्रहरीले फिर्ता ल्याएको छ । उनीहरू शुक्रबार र शनिबार भागेका हुन् । शनिबार अबेर राति खबर पाएपछि आइतबार बिहानबाटै प्रहरीले खोजी गरेको थियो । शुक्रबार उक्त वडाको खोरियास्थित सरस्वती प्राविमा क्वारेन्टाइनमा बसेका १८ जना र शनिबार उक्त वडाकै राष्ट्रिय निमावि सिंहखोरको क्वारेन्टाइनमा बसेका २२ जना भागेका थिए ।

आइतबार रातिसम्म खोजेर ४० जनालाई ल्याइएको सशस्त्रको २८ नं. गणका उपरीक्षक जनकराज पुरीले बताए । ‘चार महिलालाई सोमबार बिहान ल्याएर राख्यौं,’ उनले भने, ‘दुवै क्वारेन्टाइनमा कडा निगरानी राखेका छौं ।’ मुम्बई, दिल्लीबाट आएका उनीहरू भागेपछि गाउँमा निकै त्रास थियो । गाउँपालिकामा १२ जना कोरोना संक्रमित छन्, जसमध्ये उक्त वडाकै पाँच जना छन् । भागेका व्यक्तिलाई आफूहरूले बोलाउँदा पनि नआएको वडाध्यक्ष सहाबुद्धिन मुसलमानले बताए । तर, वडाध्यक्ष मुसलमानले नै उनीहरूलाई उक्साएर घर पठाएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । ‘वडाध्यक्षको धेरै कमजोरी देखियो,’ उनले भने, ‘उनलाई के गर्ने भनेर छलफल चलाएका छौं ।’

मुम्बईबाट जेठ १ गते दुई जना गाउँ आएका थिए । उनीहरू क्वारेन्टाइनमा नगएर गाउँमा घुमे । कांग्रेस समर्थित उनीहरू गाउँमा घुमेको देखेपछि वडाध्यक्ष मुसलमानले क्वारेन्टाइनमा बसेका आफ्ना समर्थकलाई उक्साए । आफ्ना मान्छेलाई घर फर्किन मौन समर्थन गरे । उनी संघीय संसद्मा स्वतन्त्र सांसद बृजेशकुमार गुप्ताका कार्यकर्ता हुन् । ४० जना घर पुगेपछि आफैंले सञ्चारमाध्यममा पुगेर क्वारेन्टाइनबाट मानिस भागेको खबर गरे । पूरै जिल्लाको ध्यान तानियो । उनको कमजोरी देखिएपछि अहिले चुप लागेर बसेका छन् । सुरक्षाकर्मीको तारो पनि बनेका छन् । खोरिया गाउँमा पाँच जना संक्रमित देखिएकाले तत्काल सिल गर्न आवश्यक रहेको गाउँपालिका अध्यक्ष गिरजेश पाण्डेले बताए । दुवै क्वारेन्टाइनमा गरेर ९२ जना छन् ।