बाँके / नेपाल–भारत सीमामा आएका नेपालीलाई बाँकेका स्थानीय तहहरुले क्वारेन्टाइनमा राख्न थालेका छन् ।
मंगलबार डुडुवा गाउँपालिका–१ मा पर्ने होलियाको पुरानो भन्सार भएको खुला नाकाबाट ३२ नेपाली आएका हुन् । अरू पनि आउने क्रममा छन् । उनीहरूलाई डुडुवा गाउँपालिकाले क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले बताए ।
नरैनापुर गाउँपालिकामा पर्ने खुला सीमादेखि आएका १ सय ११ जनालाई पनि क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहिन खाँले बताए । उनका अनुसार नेपालीहरू आउने क्रम बढिरहेकाले क्वारेन्टाइनमा राखेर व्यवस्थापन गर्न समस्या छ । दुई सय अट्ने क्षमताको क्वारेन्टाइन बनाइए पनि आउने क्रम बढ्दै गएपछि पाँच सय क्षमताको विस्तार गरेको उनले बताए ।
जिल्ला प्रशासन प्रमुख कुमारबहादुर खड्काका अनुसार लुकेर बसेका नेपाली भागेर समुदायमा छिर्दा जोखिम बढ्ने डरले छिटोभन्दा छिटो क्वारेन्टाइनमा राख्न लागिएको हो । बाँकेको मूल नाका जमुनाहभन्दा पनि सहायक नाका नरैनापुर र डुडुवा गाउँपालिकाका खुला नाकादेखि नेपाली आउने क्रम बढ्दो छ । सकेसम्म आएकालाई छिट्टै क्वारेन्टाइनमा राखिएको र उनीहरूको अभिलेख संकलनसँगै स्वाब परीक्षणसमेत गर्न थालिएको उनको भनाइ छ ।