अन्य

रेशम चौधरीलाई अस्पतालको शय्यामा पनि नेल लगाउने कर्मचारीलाई कारबाही गर्न निर्देशन

अनलाइन नेपालगंज

शनिबार, ७ असार २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले रेशम चौधरीलाई अस्पतालको शय्यामा पनि नेल लगाउने कर्मचारीलाई कारबाही गर्न निर्देशन दिनुभएको छ ।

वीर अस्पतालमा उपचार गराइरहेका निलम्बित सांसद चौधरीलाई अस्पतालको ओछ्यानमै फलामे साङ्लोले बाँध्ने कर्मचारीलाई कारबाही गर्न मुख्य सचिव लोकदर्शन रेग्मीलाई प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको हो ।

शुक्रबार अस्पतालको ओछ्यानमै साङ्लोले बाँधिएको चौधरीको तस्बिर सार्वजनिक भएलगत्तै प्रधानमन्त्रीको ध्यानाकर्षण भएको र शनिबार मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोन गरेर त्यो काममा संलग्न सबै कर्मचारीलाई कारबाही गर्न निर्देशन दिनु भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले चौधरीलाई अस्पतालमा भर्ना गर्दा लगाइएको नेल तत्काल फुकाउन पनि निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत् सम्बन्धित निकायलाई नेल फुकाउन निर्देशन दिनुभएको हो ।

फोक्सो र बोनम्यारोमा समस्या देखिएपछि चौधरीलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको थियो । तर चौधरीको उपचारमा सरकारले अमानवीय व्यवहार गरेको भन्दै चर्को आलोचना भएपछि प्रधानमन्त्री ओलीको यस्तो निर्देशन आएको हो ।

रेशम चौधरीको खुट्टामा खिया लागेको फलामको साङ्लोले बाँधेर उपचार भैरहेको थियो । त्यो तस्बिर एकाएक सामाजिक सञ्जाल हुँदै नेपाली राजनीतिमा चर्चाको विषय बनेको थियो । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई अस्पताल पुगेर चौधरीलाई भेट्नु भएको थियो ।

उहाँले सरकारले अमानवीय व्यवहार देखाएको भन्दै ुयस्तो हर्कत बन्दु गर्न सरकारलाई आग्रह गर्नु भएको थियो । २०७२ भदौ ७ गते भएको टीकापुर हत्याकाण्डका मुख्य अभियक्त भन्दै जिल्ला अदालत कैलालीले दोषी ठहर गरेको थियो ।

उनी१५ महिनादेखि डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका छन । अदालतले चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको थियो ।

गएको प्रतिनिधिसभा निर्वाचनमा उनी कैलाली १ बाट राष्ट्रिय जनता पार्टीको तर्फबाट विजयी भएका थिए ।
-साभार : उज्यालो अनलाइन