अन्य

गुलरिया ९ मा नमुना कामको शुरुवात हुदै गईरहेको छ : प्रदेश सभा सदस्य हिमाल,  स्थायि ईन्धन नभएका घरपरिवारलाई ग्यास सिलिन्डर, चुलो वितरण

अनलाइन नेपालगंज

बुधबार, २५ बैशाख २०७६

५ नम्बर प्रदेशका प्रदेश सभा सदस्य तिलकराम शर्मा (हिमाल) ले गुलरिया नगरपालिका वडा नम्बर ९ मा नमुना कामको शुरुवात हुदै गईरहेको बताउनुभएको छ ।

मंगलबार स्थायी ईन्धन नभएका गरिब, बिपन्न परिवारहरुका लागी आधारभुत ईन्धन स्वरुप खाना पकाउने ग्यास सिलिन्डर, चुलो वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य समेत रहनुभएका हिमालले भन्नुभयो, “वडाका प्रत्येक घरमा ग्यास सिलिन्डर, चुलो पु¥याउने यो नमुना कामको शुरुवात भएको छ, भारतीय सिमा सँग जोडिएका र ईन्धनका लागी दुख पाईरहेका पीडित सबै घरपरिवारलाई बिस्तारै यो सेवा उपलब्ध गराउदै जानु पर्छ ।”

हरी प्रसाद पासवान वडा अध्यक्ष रहेको गुलरिया नगरपालिका वडा नम्बर ९ को वडा कार्यालयले भान्सामा काम गर्ने महिलाहरुले भारतीय जङ्गलमा गएर दुख कष्टका साथ दाउरा ल्याउनु पर्ने तर बेला–बेला भारतीय तर्फ बाट नेपाली महिला माथी दुव्र्यवहार गरि दुख दिने गरेकोले यो कार्यक्रमको सुरुवात गरेको जनाएको छ ।

उता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता गेहेन्द्र प्रसाद ढकालले वडामा राम्रो कामको सुरुवात भए पनि दीर्घकालीन रुपमै यस्ता समस्याको हल गरिनु पर्ने पर्ने बताउनुभयो ।

बैकल्पिक उर्जाको रुपमा पशुपालन गरि गोबर ग्यास मार्फत ग्यासमा आत्म निर्भर गराउदै लाने निति बनाउनु पर्नेमा जोड दिनु भयो ।

महिला नेत्री मोहन कुमारी फुयाल (मिथीला), कार्यपालिका सदस्य बिनिता देवकोटा, वडा सचिव, स्थानिय समाजसेवी, अगुवा लगायतको उपस्थितीमा गोडियनपुरुवा, भठ्ठापुरुवा, बाह्रबिगाह, घुम्ना नेपालका ३ सय ४५ घरपरिवारलाई एक-एक वटा खाना पकाउने ग्यास सिलिन्डर, चुलो उपलब्ध गराईएको छ ।

बाँकी रहेका घरपरिवारलाई आगामी आर्थिक बर्षको कार्यक्रममा समेटने वडा कार्यालयले जनाएको छ । मधेसी, मुस्लिम समुदायको बाहुल्यता रहेको सो ठाउँमा खाना पकाउने ग्यास सिलिन्डर, चुलो पाएपछि गृहनी महिलाहरुले भने खुसी ब्यक्त गरेका छन ।