खेलकुद

आठौँ राष्ट्रिय खेलकुद, नेपाल पुलिस क्लव ५–० गोलले विजयी

अनलाइन नेपालगंज

बिहीबार, २८ चैत्र २०७५

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आज भएको पुरुष हक्कीमा नेपाल पुलिस क्लवको सामुन्ने गण्डकी प्रदेश स्तब्ध भएको छ । पहिलो खेलमा नेपाल पुलिस क्लव ५–० गोलले विजयी भएको हो ।

गण्डकी प्रदेशलाई प्रतियोगिता अवधिभर दवावमा राख्नुभएका नेपाल पुलिसका तर्फबाट पाँच वटै गोल जर्सी नम्बरंं. १० का खेलाडी रोमन राणाले गर्नुभयो । उहाँले खेलको १० औँ, १२ औँ, ३८ औँ, ४५ औँ र ५५ औँ मिनेटमा गोल गरेको हक्कीका मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) ले जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपाल पुलिस क्लवले धेरै पेनाल्टी कर्नर पाए पनि अवसरलाई सदुपयोग गर्न सकेन । पुलिसले ७ र गण्डकी प्रदेशले दुई पेनाल्टी कर्नर पाएको पिन्टुले जानकारी दिनुभयो ।

पुलिस क्वलमा ५ नंम्बर प्रदेशको तर्फबाट खेलिसकेका सात जना खेलाडी समावेश छन् । दोस्रो खेलमा नेपाल आर्मी प्रदेश नम्बरं. २ बिरुद्ध १–० को अन्तरले विजयी भएको हो । आर्मीका तर्फबाट १० नम्बर जर्सीका खेलाडी राम शाहले ५६ मिनेटमा गोल गरी टिमलाई विजयी दिलाउनुभएको हो ।

गोललाई मान्यता दिने विषयमा विवाद भएपछि प्रदेश २ खेलबाट बाहिरिएको थियो । खेलमा आर्मीले ८ वटा कर्नर पेलान्टीको अवसर पाएको थियो । आजको तेस्रो खेल अपरान्ह ४ बजेपछि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुने छ ।