खेलकुद

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन सर्वपक्षिय पहल हुन थाले

अनलाइन नेपालगंज

बिहीबार, २१ चैत्र २०७५

बाँकेको नेपालगन्जमा आयोजना हुन गईरहेको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन सर्वपक्षिय पहल हुन थालेका छन । प्रतियोगिताको प्रचार प्रसार, सरसफाई, भोजन, यातायात, स्वयमसेवक लगायतका काममा नेपालगन्जका सर्वसाधारणहरुको स्वस्फूर्त सहभागीता भएको देखिन्छ ।

त्यसै क्रममा लायन्स क्लव, डिष्ट्रिक्ट ३२५ वी टु ले पनि प्रचार प्रसारमा सहयोग गर्ने भएको छ । खेलकुदलाई सफल बनाउने दायित्व लायन्सकर्मीको पनि भएकोले प्रचार प्रसारमा सहयोग गर्ने निर्णयमा पुगेको लायन्स क्लव ३२५ वी ट का पूर्व डिष्ट्रिक्ट गभर्नर मधुसुदन शर्माले बताउनुभयो ।

लायन्स क्लव ३२५ वी टु का पूर्व डिष्ट्रिक्ट गभर्नर शेम शाक्यले नेपालगन्जमा हुने प्रतियोगिताको अफनत्व लिन नेपालगन्जबासीसँग आग्रह गर्नुभयो । लायन्स क्लवले बाँकेबाट संचालन हुने र अन्यत्रबाट बाँकेमा आउने यातायातका साधनमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको स्टिकर टास्न सहयोग गर्ने शाक्यले बताउनुभयो ।

प्रतियोगितामा हातेमालो गर्ने संस्थागत रुपमा लायन्स क्लव पहिलो भएको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिनुभयो ।

उहाँले प्रतियोगिता नजिकिदै गएपछि सहयोग गर्नेको संख्या पनि थपिदै गएको बताउनुभयो । यसअघि नेपाल कवड्डी संघले पनि प्रचार प्रसारका लागि बाँकेका विभिन्न स्थानमा माइकिङ गर्ने प्रतिवद्धता जनाई सकेको छ ।

संघले प्रचार प्रसार गर्न यहि चैत २५ गते बाँकेको विभिन्न स्थानमा पुगेर माइकिङ गर्ने अध्यक्ष डम्बर थापाले बताउनुभएको छ । त्यस्तै ग्रिन नेपालगन्ज, क्लिन नेपालगन्जले दुई साता अघिदेखि नै नेपालगन्जमा सरसफाई अभियान थालेको छ ।

आठौँ राष्ट्रिय प्रतियोगिताका लागि नेपालगन्ज पाहुना, खेलाडी, प्रशिक्षक, एम्पाएरलाई सफासुग्घर नेपालगन्जले स्वागत गर्न सरसफाई अभियान थालेको अभियन्ता हेमन्तराज काफ्लेले बताउनुभयो ।