अर्थ/बजार

खाद्य अनुसन्धान अधिकृत तथा कार्यालय प्रमुख विनोदकुमार श्रीवास्तवले भ्रष्टाचार गरेको पुष्टि भएपछि अदालतमा आरोप पत्र दायर

अनलाइन नेपालगंज

मंगलवार, १९ चैत्र २०७५

खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगंजका खाद्य अनुसन्धान अधिकृत तथा कार्यालय प्रमुख विनोदकुमार श्रीवास्तवले भ्रष्टाचार गरेको पुष्टि भएपछि अख्तियारले आरोप पत्र दायर गरेको छ ।

प्रज्ञापन–पत्र बनाइदिने, भन्सार चेक एवं गुणस्तर (ल्याब परीक्षण) लगायतका कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम मागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले नियन्त्रणमा लिएको थियो ।

खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगंज बाँकेमा कार्यरत श्रीवास्तवले भन्सारबाट आयात हुने चामल लगायत अन्य सामानहरुको कानून बमोजिम चेकजाँच दस्तुर बुझाए पनि थप रकम मागेको सुचना र उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिईएको हो ।

अनुसन्धानबाट खाद्य अनुसन्धान अधिकृत विनोद कुमार श्रीवास्तवले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको सप्रमाण पुष्टि भएपछि पैंत्तीस हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको उपसचिव एवं सहायक प्रवक्ता मदन कोइराला द्धारा जारी प्रेस बिज्ञप्तीमा उल्लेख छ ।