खेलकुद

गोर्खा सैनिक विष्णु श्रेष्ठको जीवनीबारे भारतीय गायक एवं नायक हिमेश रेशमियाले फिल्म बनाउने

अनलाइन नेपालगंज

सोमबार, १८ चैत्र २०७५

गोर्खा सैनिक विष्णु श्रेष्ठको जीवनीबारे भारतीय गायक एवं नायक हिमेश रेशमियाले फिल्म बनाउने हुनुभएको छ । उहाँले गोर्खा सैनिक अधिकारी विष्णुको बायोपिक बनाउने राइट्स लिनुभएको छ।

फिल्मको कास्ट फाइनल नभइसके पनि विष्णुको बायोपिकको अनुसन्धान र पटकथाको कल्पना प्रफुल्ल शाहले गर्नुभएको छ । सन् २०१० को सेप्टेम्बर दुई तारिखमा ३५ वर्षे गोर्खा सैनिक गोरखपुरबाट राँची जाँदै हुनुहुन्थो उनी मौर्य एक्सप्रेसमा यात्रा गरिरहनुभएको थियो ।

डाकाहरुले रेल बाटोमा नै कब्जा गरेर यात्रुहरुसँग भएको पैसा, गरगहना, मोबाइल लगायतका सामग्री लुट्न थाले । जब डाका श्रेष्ठ भए ठाउँ पुगे, उहाँ सुतिरहनुभएको थियो ।

डाकाहरुले झक्झकाएर उठाउँदा उहाँ आफूसँग भएको सामग्री दिन तयार हुनुभयो तर उहाँसगै बसेकी १८ वर्षे युवतीलाई डाकाहरुले बलात्कार गर्न खोजे तब उहाँ चुप बस्न सक्नुभएन । उहाँले आफूसँग भएको खुकुरी निकाल्नुभयो र डाकामाथि जाइलाग्न थाल्नुभयो ।

श्रेष्ठले टाइम्स अफ इन्डियालाई भन्नुभयो, ‘म एक सैनिक हुँ र देशको जनताको सुरक्षाका लागि मैले तलब खाने गर्छु । मैले डाकाहरुको मनोमानी चुप लागेर हेर्न सकिन। मैले आफूसँग भएको खुकुरी निकालेँ र डाकाहरुलाई आक्रमण गर्न थालेँ । मैले तीनजनालाई छप्काएँ । आठ जना उठ्नै नसक्ने गरी मुर्छित भए । त्यसपछि अन्य डाका भागे ।’

डाकासँगको झडपमा विष्णुको बायाँ हातमा चोट लाग्यो । दुई महिनाको उपचारपछि उक्त घाउ निको भयो । पुलिसले डाकाहरुलाई समात्न सफल भयो । उनीहरुबाट चार लाख नगद, सुनका गहना, मोबाइल फोन, ल्यापटप र अन्य सामग्री बरामद गरियो ।

-साभार : रातोपाटी